काठमाडौं । नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो ।
जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो ।
मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालको जितमा कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खचेर १ विकेट लिए ।
त्यसअघि बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ५२ रन बनाएको थियो ।
नेपालको जितमा शीर्षक्रमका ब्याटर नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । उनले ८२ बलमा शतक पूरा गरेका थिए ।
उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भएका थिए ।
