काठमाडौं । संघीय संसद् भवन परिसरबाट हराएको मोटरसाइकल प्रहरीले बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–१० स्थित नयाँ बानेश्वरको संघीय संसद् भवन क्षेत्रबाट बा ८० प २९४१ नम्बरको यामाहा आर–१५ मोटरसाइकल हराएको भन्दै धनीले प्रहरीमा निवेदन दिएका थिए। त्यसपछि प्रहरीले मोटरसाइकलको खोजी अभियान सुरु गरेको थियो।
खोजतलासका क्रममा मंगलबार बुढानीलकण्ठ नगरपालिका–१० कपन क्षेत्रमा एक व्यक्तिले उक्त मोटरसाइकल शंकास्पद अवस्थामा चलाइरहेको भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले हराएको मोटरसाइकल सकुशल बरामद गर्नुका साथै मोटरसाइकल चलाइरहेका व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ।
यसैबीच प्रहरीले सवारीधनीलाई मोटरसाइकल तथा अन्य सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक लगायतका सुरक्षा उपकरण प्रयोग गर्न तथा आवश्यक सुरक्षा साइरन जडान गर्न आग्रह गरेको छ।
