काठमाडौँ । कुनै समय सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हरियो जर्सी नम्बर १४ लगाएर दशरथ रंगशालामा फुटबलको सपना बोकी दौडिने कमल गुरुङ आज मलेसियामा सेक्युरिटी गार्डका रूपमा परिवारको भविष्य बनाउन पसिना बगाइरहेका छन्।
हिजो मैदानमा जितका लागि दौडिने उनका पाइला आज परिवारको खुसीका लागि विदेशी भूमिमा दौडिरहेका छन्।
कमलको कथा एउटा खेलाडीको पेसा परिवर्तनको कथा मात्र होइन, नेपाली फुटबलभित्र हराउँदै गएका सम्भावना र अधुरा सपनाको प्रतिनिधि कथा पनि हो। उमेरले ४० वर्ष पार गरिसकेका कमलका लागि फुटबलका ती दिन अहिले सम्झनामा सीमित छन्। उनी भन्छन्, ‘मैले फुटबल छोडेको होइन, जिन्दगीले मेरो मैदान मात्र फेरिदिएको हो।’
यता नेपाली फुटबल निलम्बनको संकट र एन्फाभित्रको राजनीतिक खिचातानीले खेलाडीको भविष्यबारे थप प्रश्न उठाएको छ। खेलाडीको मेहनत, प्रतिभा र समर्पणभन्दा संस्थागत विवादले प्राथमिकता पाउँदा यसको असर मैदानमा पसिना बगाउने खेलाडीको करियरमा पर्न सक्ने चिन्ता छ।
एन्फा र नेपाल सरकारले खेलाडीको रोजगारी, आर्थिक सुरक्षा, व्यावसायिक अवसर र भविष्य सुनिश्चित गर्न पर्याप्त ध्यान दिन नसकेको गुनासोबीच कमलजस्ता खेलाडीका कथा गम्भीर प्रश्न बनेर उभिएका छन्।
जर्सी फेरियो, मैदान फेरियो, देश फेरियो; तर संघर्ष गर्ने कमल फेरिएनन्। आखिर नेपाली खेलाडीले आफ्नो भविष्य विदेशमा खोज्नुपर्ने अवस्था कहिलेसम्म?
स्रोत: कमल गुरुङको फेसबुक पेजबाट साभार।

