काठमाडौं । प्रहरीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेको कारमा गोली प्रहार गरी रोकेपछि ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल बरामद गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाराको सिम्रौनगढबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश BAD९२०१ नम्बरको रातो रंगको सुजुकी कारमा ठूलो परिमाणमा ट्रामाडोल ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरीले उक्त कारलाई ललितपुर महानगरपालिका–२३ स्थित गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको अवस्थामा रोक्न खोज्दा कार चालकले अटेर गर्दै प्रहरी नियन्त्रणबाट भाग्न प्रयास गरेका थिए। त्यसक्रममा कारको पछाडिको दाहिनेतर्फको टायरमा एक राउन्ड गोली प्रहार गरी सवारी साधन नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।
कार तथा साथमा रहेको बा.५२ प. ५४५७ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा कारको पछाडिको डिक्कीमा लुकाइराखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा कारमा सवार एक जना र मोटरसाइकलमा रहेका दुई जना गरी तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारत बिहार राज्य सितामढी जिल्ला जानकीस्थान -१८ का ३२ वर्षीय अहमद लडुन तथा सोही स्थान वडा नं. ६ का ३३ वर्षीय महमद सहाम रहेका छन्।
प्रहरीले घटनास्थलबाट ट्रामाडोल ३० हजार क्याप्सुल, सुजुकी कम्पनीको रातो रंगको कार, एफजेड मोटरसाइकल तथा पाँच थान मोबाइल बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।
