काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भीड नियन्त्रणका क्रममा अत्यधिक बल प्रयोग गर्ने प्रवृत्ति अन्त्य गर्न प्रहरी संगठनलाई निर्देशन दिएका छन् ।
उनले बल प्रयोग गर्दा आवश्यकता, औचित्य र जवाफदेहिताको सिद्धान्तलाई व्यवहारमा कडाइका साथ लागू गर्न जोड दिएका हुन् ।
संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालय (यूएनआरसीओ) को आयोजनामा कात्तिक १७ देखि १९ गतेसम्म राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित ‘Force Protocol for Law Enforcement Officials to Promote and Protect Human Rights in the Context of Peaceful Protests’ कार्यान्वयनसम्बन्धी तीनदिने परामर्श कार्यशालाको समापन सत्रलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन् ।
उनले शान्ति सुव्यवस्था कायम गर्ने नाममा भीड नियन्त्रणमा अनावश्यक बल प्रयोग गर्नेभन्दा प्रभावकारी सञ्चार, आपसी समन्वय र संस्थागत सुधारलाई प्राथमिकता दिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिए ।
शान्तिपूर्ण प्रदर्शन व्यवस्थापनका क्रममा मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्दै प्रहरीको व्यावसायिक भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको थियो ।
कार्यशालामा गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका अधिकृतका साथै यूएनएचसीएचआर जेनेभा र यूएनओडीसीका सहजकर्ताहरू सहभागी थिए ।
कार्यशालाले सहभागीहरूलाई आफ्नो अधिकार, जिम्मेवारी र कार्यविधिको पुनरावलोकन तथा अद्यावधिक गर्ने अवसर प्रदान गरेको छ ।
बल प्रयोगसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, संवाद, समन्वय, परिचालन योजना तथा नेतृत्वको जवाफदेहिताजस्ता विषयमा प्राप्त ज्ञान र सीपले नेपालमा व्यावसायिक, संयमित र जवाफदेही प्रहरी अभ्यास विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ ।

