काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले दिएको ८८ रनको सामान्य लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सहज जित निकाल्दै उपाधि रक्षाको अभियान सुखद रूपमा सुरु गरेको हो ।
सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै १७.२ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो । जवाफमा लुम्बिनीले आक्रामक ब्याटिङ गर्दै लक्ष्य सहजै भेट्टायो ।
लुम्बिनीको जितमा डार्सी सर्टले १८ बलमा ४० रनको आक्रामक पारी खेले । उनले सुदूरपश्चिमका बलरमाथि दबाब सिर्जना गर्दै टोलीलाई जितनजिक पुर्याए । कप्तान रोहितकुमार पौडेलले अविजित ५ रन बनाए भने शामीम हुसेनले अविजित १ रन जोडे ।
बलिङतर्फ लुम्बिनीका किशोर महतोले ४ विकेट र शेर मल्लले ३ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाएका थिए । शाड्ली भान शाल्कविक, तिलक भण्डारी र कप्तान रोहित पौडेलले पनि समान १ विकेट लिए ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाएका थिए । शैफ अली जैबले १३ रन जोडे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।
यस जितसँगै लुम्बिनीले तेस्रो संस्करणमा आफ्नो उपाधि रक्षा अभियान सुरु गरेको छ ।

