काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले एसएसपी प्रविण पोखरेललाई आफ्नो सचिवालयमा ल्याएका छन् । राष्ट्रिय सुरक्षा परिषद्, सिंहदरबारमा कार्यरत पोखरेललाई आईजीपी केसीले सचिवालयमा जिम्मेवारी दिएका हुन् ।
प्रहरी नेतृत्व परिवर्तन भएसँगै अघिल्लो आईजीपीको सचिवालयमा कार्यरत अधिकृतलाई फेरबदल गर्ने प्रचलन छ । तर, आईजीपी केसीले भने पूर्वआईजीपी दानबहादुर कार्कीको सचिवालयमा कार्यरत रहेकै आधारमा कुनै पनि कर्मचारीमाथि भेदभाव नगर्ने नीति लिएको उनको सचिवालयमा कार्यरत एक अधिकृतले बताए ।
हाल आईजीपीको सचिवालयमा प्रवक्ताको जिम्मेवारीमा डीआईजी अविनारायण काफ्ले, सहप्रवक्तामा एसएसपी दीपशमशेर जबरा, एसपी धर्मराज भण्डारी र डीएसपी शेखरजङ्ग मल्ललगायतका अधिकृत कार्यरत छन् ।
स्रोतका अनुसार सचिवालयमा कार्यरत केही अधिकृत तिहारलगत्तै हुने नियमित सरुवाबाट अन्य जिम्मेवारीमा जानेबाहेक आईजीपी परिवर्तन भएकै कारण तत्काल ठूलो फेरबदल गर्ने नीति छैन ।
सचिवालयमा जिम्मेवारी पाएका एसएसपी पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गर्नुका साथै सर्लाही, रुपन्देहीलगायतका जिल्लाको प्रहरी कमाण्ड सम्हालिसकेका छन् ।

