काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित एक स्पामा कार्यरत १७ वर्षीया किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत कात्तिक १७ गते राति करिब ८ बजे कपनस्थित ह्यान्डबल ग्राउन्ड नजिकै रहेको रोज हेल्थ स्पामा कार्यरत भोजपुरको षडानन्द नगरपालिका–१ स्थायी घर भएकी किशोरीमाथि जबर्जस्ती करणी भएको हो।
घटनापछि घाइते किशोरीलाई उपचारका लागि सुरुमा सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि थापाथलीस्थित प्रसूति गृह पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार किशोरीको अवस्था मध्यम रहेको छ। उनी बोल्न सक्ने अवस्थामा थिइन्। घटनामा संलग्न रहेको आरोप लागेका व्यक्ति घटनापछि फरार भएका थिए।
प्रहरी वृत्त कपनका प्रहरी निरीक्षक निरोला भण्डारीको नेतृत्वमा सादा पोसाकमा खटिएको प्रहरी टोलीले फरार आरोपित अमृतबहादुर कार्कीलाई काठमाडौंको सामाखुसीबाट भाग्ने क्रममा पक्राउ गरेको हो।
उदयपुरको त्रियुगा नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौंको कपन क्षेत्रमा बस्दै आएका कार्कीलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

