काठमाडौं । ‘मिस्टर नेपाल २०२३’ को फिनालेमा गोरखा गण्डकी गाउँपालिका,३ फूजेलका राजीव तिवारी पुगेका छन् । तिवारीसँगै अन्य २० प्रतियोगी फिनालेमा पुगेका हुन् ।
देशभर आयोजना गरिएको अडिसनबाट तीन सय प्रतियोगी छनौट भएका थिए । जसमध्येबाट गोरखा फुजेलका तिवारी अन्तिम २० सेमिफाइनलिस्टमा पुग्न सफल भएका हुन् ।
अहिले खल्ती एपबाट भोटिङ समेत खुला गरिएको छ । तिवारीले आफुलाई भोटिङ सहयोग गर्न अपिल गरेका छन् । आफु जन्मेको भुमिको लागि केहि गर्ने योजानाका साथ प्रतियोगितामा सहभागी भएको तिवारीले जानकारी दिए ।
छनोट भएका प्रतियोगी फिनालेका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।
प्रशिक्षणमा पौडी, फुटबल, चट्टान आरोहण, समाजसेवा, हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषय समावेश छन् ।
छनोट चरणको अडिसन विराटनगर, जनकपुर, भरतपुर, बुटवल, पोखरा र काठमाडौंमा भएको थियो
यो पटक मिस्टर नेपाल ‘न्युलुक मिस्टर नेपाल’ को नामबाट आयोजना हुँदैछ । १६ देखि ३२ वर्षको उमेर ननाघेका युवाको सहभागिता रहने प्रतिस्पर्धामा ५ फिट ८ इन्चभन्दा बढी उचाइ भएका नेपाली नागरिक रहनुपर्ने प्रावधान राखिएको छ ।
शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वसहित पाँच लाख रुपैयाँ बराबरको पुरस्कार हात पार्नेछन् ।