धनुषा । धनुषामा एक दम्पती मृत फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा ३० वर्षीया रिनादेवी यादवको हत्या भएको अवस्थामा शव फेला परेको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरदेखि करिब एक किलोमिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार रिनाको घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा शव फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा उमेशले गएराति ससुराली पुगेर पत्नीको हत्या गरेको आशंका गरिएको छ।
प्रहरीका अनुसार उमेश राति करिब ९ बजे ससुराली पुगेका थिए। राति पौने २ बजेतिर घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनामा दम्पतीका चार वर्षीय छोरा सम्राटसमेत घाइते भएका छन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। बालकको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
गणेशमान चारनाथ नगरपालिका–४ भरतपुर घर भएका उमेश केही महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएको खुलेको छ। पत्नीको हत्या भएको घटनापछि उनको खोजी गर्ने क्रममा मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणतर्फ रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको डीएसपी खनालले जानकारी दिए।
घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय धनुषाधामबाट प्रहरी निरीक्षक राजेश कुमार शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थलबाट रगत लागेको चक्कुसमेत बरामद भएको प्रहरीले जनाएको छ।
रिनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। उमेशको शव भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
घटना के कारणले भएको हो भन्ने विषयमा खुल्न सकेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

