रौतहट । रौतहटको कटहरिया नगरपालिका–९ घर भएका कमेडियन अमरेन्द्र यादवले रोस्टकै विषयलाई लिएर आफू र आफ्नो परिवारमाथि व्यक्तिगत गालीगलौज, धम्की तथा मानसिक दबाब दिइएको भन्दै आफ्नो पीडा सार्वजनिक गरेका छन्।
मंगलबार साँझ सामाजिक सञ्जालमार्फत भावुक हुँदै उनले पछिल्ला ३–४ दिनदेखि आफू मानसिक तनावमा रहेको बताएका हुन्। आफू कमेडियन भएकाले रोस्ट गर्नु आफ्नो पेसाकै एउटा हिस्सा भएको भन्दै उनले रोस्टलाई लिएर व्यक्तिगत रूपमा टर्चर नगर्न आग्रह गरेका छन्।
‘यो लडाइँ म एक्लै तीन दिनदेखि लडिरहेको थिएँ। तर अब सहन नसकेर आज यो कुरा सार्वजनिक रूपमा लेख्न बाध्य भएको छु,’ यादवले फेसबुकमा लेखेका छन्।
उनका अनुसार एउटा भिडियो सार्वजनिक भएपछि आफू निरन्तर गालीगलौज र मानसिक दबाबको सामना गरिरहेका छन्। यस्तो व्यवहार कसले गरिरहेको हो भन्ने यकिन नभए पनि त्यसको असर आफू र आफ्नो परिवारमा परेको उनले बताएका छन्।
यादवले आफू असुरक्षित महसुस गरिरहेको संकेत गर्दै भनेका छन्, ‘मलाई रुमबाट बाहिर जान डर लागिरहेको छ, कहिलेसम्म रुममा बस्ने म?’
आफूले कुनै राजनीतिक दल वा समूहको विरोध गर्ने उद्देश्यले रोस्ट नगरेको स्पष्ट पार्दै यादवले विगतमा विभिन्न राजनीतिक धारसँग जोडिएका व्यक्तिहरूलाई समेत रोस्ट गरेको स्मरण गराएका छन्।
नेकपा एमालेसँग सम्बन्धित व्यक्तिलाई रोस्ट गरेकै आधारमा आफूलाई ‘एमाले विरोधी’को आरोप लगाइएको भन्दै उनले यसअघि नेकपा माओवादीसँग सम्बन्धित सन्तोष देउजा तथा राजावादी धारसँग जोडिएका पुष्कर खतीवाडालाई समेत रोस्ट गरेको बताएका छन्।
‘आखिर म कसको विरोधी हुँ? म आफैँ कन्फ्युज भएँ- म कसको विरोधी हुँ?’ उनले प्रश्न गरेका छन्।
यादवले आफू कुनै दल वा विचारधाराको विरोधी नभई स्वतन्त्र नागरिक भएको बताएका छन्। आफ्नो पेसा नै कमेडी भएकाले रोस्ट पनि कमेडीको एउटा हिस्सा भएको भन्दै उनले त्यसलाई मनोरञ्जनका रूपमा बुझिदिन आग्रह गरेका छन्।
रोस्ट वा कमेडीप्रति असहमति जनाउन सकिने भए पनि त्यसकै आधारमा व्यक्तिगत गालीगलौज गर्ने, परिवारलाई दुःख दिने, मानसिक यातना दिने तथा ज्यान मार्ने धम्की दिने कार्य स्वीकार्य नहुने उनको भनाइ छ।
‘मलाई व्यक्तिगत गाली नगर्नुहोस्, व्यक्तिगत रूपमा टर्चर नगर्नुहोस्, र गाली तथा मार्ने धम्की नदिनुहोस्,’ उनले आग्रह गरेका छन्।
विचार फरक हुन सक्ने भए पनि व्यक्तिगत दुर्व्यवहार र धम्कीलाई स्थान नदिन आग्रह गर्दै यादवले भनेका छन्, ‘कमेडीलाई कमेडीको रूपमा बुझौँ। विचार फरक हुन सक्छ, तर व्यक्तिगत दुर्व्यवहार र धम्कीको ठाउँ नदिऔँ।’
कमेडी र राजनीतिक व्यंग्यलाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेका बेला यादवको यो सार्वजनिक अपिलले कलाकारको अभिव्यक्ति स्वतन्त्रतासँगै उनीहरूको व्यक्तिगत सुरक्षा र मर्यादाको विषयसमेत चर्चामा ल्याएको छ।

