काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको चर्चित गीत ‘सिक्का नोटैमा’ ले युट्युबमा १० मिलियनभन्दा बढी भ्युज प्राप्त गरेको छ ।
गीतले १० मिलियन भ्युजको आँकडा पार गरेपछि गीतसँग सम्बन्धित सम्पूर्ण टिमले केक काटेर खुसीयाली मनाएको छ । गीतको सफलताले सिर्जनाकार, गायक–गायिका, कलाकार तथा प्राविधिक टिममा उत्साह थपिएको छ ।
पछिल्लो समय दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको ‘सिक्का नोटैमा’मा आईजीपी कार्कीको शब्द रहेको छ । कार्कीले यसअघि पनि विभिन्न सामाजिक तथा मनोरञ्जनात्मक गीतका लागि शब्द लेखिसकेका छन् ।
१० मिलियनभन्दा बढी भ्युज पुग्नुलाई टिमले गीतप्रति दर्शक–श्रोताको बढ्दो आकर्षण र लोकप्रियताको संकेतका रूपमा लिएको छ । यही अवसरमा गीतको सम्पूर्ण टिम एकै ठाउँमा भेला भएर केक काट्दै खुसी साटासाट गरेको हो ।
टिमले गीतलाई माया र साथ दिने दर्शक–श्रोताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सिर्जनात्मक कामलाई निरन्तरता दिने जनाएको छ ।
