काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट प्रधानमन्त्री बालेन्द्र शाहलाई असफल बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीले आयोजना गरेको शुभकामना विशेष कार्यक्रमलाई सम्बोधन गर्दै साहले प्रधानमन्त्री शाहलाई अन्य दलबाट भन्दा आफ्नै पार्टीभित्रको कोर टिमबाट खतरा रहेको दाबी गरेका हुन् ।
सरकार गठन भएको ६ महिना नपुग्दै प्रधानमन्त्रीलाई विस्थापित गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डीपी अर्यालबीच प्रधानमन्त्रीलाई असफल बनाउने गरी मोर्चाबन्दी भएको दाबी गरे ।
साहले लामिछानेको यसअघिको भारत भ्रमण, चीन भ्रमणको तयारी तथा पुनः धार्मिक यात्राका लागि भारत जान लागेको विषयलाई शंकास्पद रूपमा हेर्नुपर्ने बताए । अर्थमन्त्री वाग्ले पनि भारत भ्रमणमा रहेको उल्लेख गर्दै उनले रास्वपाको कोर टिमका सदस्यहरूको पटक–पटकको भारत भ्रमणलाई सामान्य रूपमा लिन नहुने जिकिर गरे ।
उनका अनुसार रास्वपाको कोर टिमले आसन्न स्थानीय तहको निर्वाचनसम्म मात्रै प्रधानमन्त्री शाहलाई उपयोग गर्न खोजेको छ । साहले रास्वपाको ध्यान देश र जनताको हितभन्दा चुनाव जित्ने र सत्तामा पद प्राप्त गर्नेमा केन्द्रित रहेको आरोप लगाए ।
‘घण्टीहरूलाई कुर्सीको मात्रै चिन्ता छ, चुनाव कसरी जित्ने र कसरी पद पाउने भन्ने मात्रै चिन्ता देखियो,’ साहले भने ।
साहले रास्वपा सभापति लामिछानेका समर्थक कार्यकर्ताहरू सामाजिक सञ्जालमा उग्र रूपमा प्रस्तुत हुने र गालीगलौजमा उत्रिने गरेको आरोपसमेत लगाए ।

