वीरगञ्ज । पर्साको पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफूलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण तथा व्यापारीसँग रकम असुली गरेको आरोपमा पक्राउ परेका अशोक वर्णवालमाथि ठगीको अर्को आरोप सार्वजनिक भएको छ।
पोखरिया नगरपालिका–५, सतवरिया निवासी करिब ४५ वर्षीय वर्णवालले प्रहरीमा जागिर लगाइदिने भन्दै एक व्यक्तिसँग २ लाख ५ हजार रुपैयाँ लिएको, तर जागिर नलगाइदिएको र रकमसमेत फिर्ता नगरेको आरोप सार्वजनिक भएको हो।
पोखरिया नगरपालिका–७, रानीगञ्ज निवासी श्रीराम राउतका छोरालाई प्रहरीमा जागिर लगाइदिने भन्दै वर्णवालले उक्त रकम लिएको पीडित पक्षको भनाइ छ।
जागिर लगाइदिने आश्वासनमा रकम दिए पनि काम नभएको र पटक–पटक रकम फिर्ता माग्दा ‘आज दिन्छु, भोलि दिन्छु’ भन्दै आश्वासन मात्र दिने गरेको पीडित पक्षले जनाएको छ। हालसम्म रकम फिर्ता नपाएपछि आफू ठगीमा परेको पीडित पक्षको गुनासो छ।
यसैबीच, आफूलाई कहिले नेपाल प्रहरी त कहिले सशस्त्र प्रहरीको घुमुवा बताउँदै सर्वसाधारण तथा व्यापारीसँग रकम असुली गरेको आरोप लागेका वर्णवाललाई शुक्रबार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार उनी हाल इलाका प्रहरी कार्यालय पोखरियाको नियन्त्रणमा छन्।
वर्णवालले अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पर्साको पश्चिमी ग्रामीण तथा सीमावर्ती क्षेत्रमा आफ्नो प्रभाव देखाउँदै रकम असुल्ने गरेको आरोप छ। उक्त क्षेत्र इलाका प्रहरी कार्यालय पोखरियाको कार्यक्षेत्रअन्तर्गत पर्छ।
स्रोतका अनुसार वर्णवाल प्रायः मास्क लगाएर अनुहार छोप्ने गर्थे। भारतबाट घरायसी प्रयोजनका लागि सानातिना सामान ल्याउने सर्वसाधारणलाई समेत आफू प्रहरीको घुमुवा भएको बताउँदै रकम माग्ने र पैसा नदिए सामान पक्राउ गराइदिने भन्दै त्रास सिर्जना गर्ने गरेको आरोप छ।
सीमावर्ती क्षेत्रमा सामान ओसारपसार गर्ने व्यापारी तथा तस्करीमा संलग्न व्यक्तिहरूसँग रकम असुल्ने, मासु तथा मदिरासहित भोजभतेरको व्यवस्था गर्न दबाब दिने र माथिल्लो तहका प्रहरी अधिकारीहरूसँग आफ्नो चिनजान रहेको भन्दै प्रभाव देखाउने गरेको आरोपसमेत उनीमाथि लागेको छ।
जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलको १३ नम्बर गण तथा स्थानीय प्रहरी र सशस्त्र प्रहरी इकाइका प्रमुखहरूको नाम लिएर रकम माग्ने गरेको दाबीसमेत स्रोतले गरेको छ।
रकम नदिने व्यापारीको सामान पक्राउ गराउन प्रहरी तथा सशस्त्र प्रहरीका सम्बन्धित निकायमा सूचना दिने र त्यसपछि आफ्नै प्रभावका कारण कारबाही गराएको भन्दै थप रकम दिन दबाब दिने गरेको आरोपसमेत सार्वजनिक भएको छ।
प्रहरी प्रशासन आफ्नै प्रभावमा चल्ने र आफूले भनेअनुसार काम हुने दाबी गर्दै स्थानीय बासिन्दा तथा व्यापारीलाई प्रभावित पार्ने गरेको स्रोतको भनाइ छ।
स्रोतका अनुसार वर्णवाल स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र माथिल्लो तहका अधिकारीहरूसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गर्थे।
विगतमा सीमावर्ती क्षेत्रमा सामान ओसारपसार तथा तस्करीमा संलग्न रहेको र पछि सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा परिचित हुँदै आफ्नो पहुँच गणदेखि बाहिनी तहसम्म रहेको देखाउने गरेको दाबीसमेत स्रोतले गरेको छ।
आफ्नी छोरीको विवाहमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई निमन्त्रणा गरेको विषयलाई समेत उच्च तहसम्म आफ्नो पहुँच रहेको देखाउन प्रयोग गर्ने गरेको स्रोतको दाबी छ।
सोही पहुँचको चर्चा गर्दै सीमाबाट सामान ओसारपसार सहज बनाइदिने, विभिन्न काम गराइदिने तथा सशस्त्र प्रहरीमा जागिर लगाइदिने भन्दै रकम लिने गरेको आरोपसमेत उनीमाथि लागेको छ।
यस्ता गतिविधिबारे प्रश्न उठ्न थालेपछि उनी केही वर्ष सम्पर्कविहीन भएको र पछिल्लो समय पुनः सीमावर्ती क्षेत्रमा सक्रिय भई रकम उठाउने गरेको स्रोतको भनाइ छ।
वर्णवाल पक्राउ परेपछि उनीमाथि प्रहरीमा जागिर लगाइदिने भन्दै रकम लिएको आरोपसमेत सार्वजनिक भएको हो। यसअघि घुमुवा प्रहरीको नाममा रकम असुली गरेको भनिएको घटनासँगै रोजगारीको प्रलोभन देखाएर रकम लिएको आरोपबारे पनि निष्पक्ष छानबिन आवश्यक देखिएको छ।

