काठमाडौं । डिस मिडिया नेटवर्क (डिसहोम नेपाल) ले आइपीओ निष्कासनका लागि कित्ता थप गरेर फेरि निवेदन दिएको छ । कम्पनीले पहिला आवेदन दिएको भन्दा १ करोड ११ लाख ९९ हजार २६ कित्ता थपेर पुनः आवेदन दिएको हो ।
कम्पनीले असार १२ गते १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता साधारण सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
यसअघि कम्पनीले २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ निष्कासन गर्न भन्दै बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार हाल इन्टरनेट सेवा सुरु गरेकाले यसको बजारलाई थप विस्तार गर्नका लागि आवश्यक पुँजी संकलनका लागि थप कित्ता थपिएको हो ।
‘हामी आइपीओ बिक्रीबाट आएको रकम इन्टरनेटको नेटवर्थ विकासमा लगानी गर्ने छौं,’ आचार्यले भने, ‘अहिले स्कोप पनि बढेको छ । पहिला हामीले आवेदन दिँदा इन्टरनेट सुरु गरेका थिएनौं । अहिले इन्टरनेट पनि सुरु गरेकाले हाम्रो दायरा पनि बढ्यो। त्यसैले कित्ता बढाएका हौं ।’
उनका अनुसार कम्पनीले सो सेयर प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँका दरले बिक्री गर्ने छ । बोर्डबाट अन्तिम स्वीकृति पाएपछि कम्पनीले सेयर जारी गर्ने छ ।
