काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न पाइने भएको छ।
नजिकिँदै गरेको चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाका काउन्टरमा हुने भीडभाड कम गर्नुका साथै सर्वसाधारणलाई साना दरका नोट सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको हो।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन भनेको छ।
हाल अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएमबाट ५०० र १ हजार रुपैयाँ दरका नोट मात्र निकाल्न मिल्ने व्यवस्था छ। जसका कारण १०० रुपैयाँका साना दरका नोट आवश्यक पर्ने ग्राहक बैंकको काउन्टरमै पुग्नुपर्ने अवस्था छ।
विशेषगरी दसैँ, तिहारलगायतका ठूला चाडपर्वको समयमा नयाँ तथा साना दरका नोटको माग उच्च हुने भएकाले बैंकहरूमा सर्वसाधारणको लामो लाइन लाग्ने गरेको छ। राष्ट्र बैंकको नयाँ व्यवस्थाले त्यस्तो भीड कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकका अनुसार केही बैंकहरूसँग एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न सकिने वा नसकिनेबारे प्राविधिक तयारीका सम्बन्धमा बुझ्दा यस्तो व्यवस्था कार्यान्वयन गर्न सम्भव देखिएको हो।
अब बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना एटीएमको प्राविधिक क्षमता र आवश्यक व्यवस्थापन मिलाएर १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने तयारी गर्नुपर्नेछ।
