काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सञ्चालक समितिको पूर्वस्वीकृतिबिनै गुण एयरलाइन्सलाई १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको र विप्रेषण कारोबारबापत बैंकले पाउनुपर्ने ८ करोड ९३ लाख रुपैयाँभन्दा बढी ब्याज नआएको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको थियो।
न्यायाधीश गणेशप्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले मंगलबार शेरचनलाई थुनामा पठाउने आदेश दिएको हो। मुद्दामा कुल २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गरिएको छ।
अभियोगपत्रअनुसार शेरचनले सञ्चालक समितिको पूर्वस्वीकृति नलिई ‘पछि अनुमोदन गराउने’ भन्दै ऋण प्रवाह गरेको बयान दिएका छन्। यद्यपि, पुर्पक्षका लागि थुनामा पठाउने आदेश अन्तिम फैसला भने होइन।

