सुशील दर्नाल/रासस
काठमाडौँ । राजधानीमा जारी ‘साफ महिला क्लब च्याम्पियनसिप’ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा भारतको इष्ट बङ्गाल विजयी भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा इष्ट बङ्गालले पाकिस्तानको कराची सिटीलाई २–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । इष्ट बङ्गालको लागि दुवै गोल सुलन्जना रावलले गरे ।
उनले खेलको पाचौँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको पहिलो हाफको २१ औँ मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे ।
खेलको विभिन्न समयमा कराचीले गोल गर्न प्रयास गरेतापनि सम्भव हुन सकेन । प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लवहरु सहभागि छन् ।
यही मङ्सिर १९ गतेदेखि आगामी पुस ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागिता छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको सो प्रतियोगिताको सिंगल राउण्ड रोविनका आधारमा खेली प्रथम र द्विताय स्थान हासिल गर्ने दुई टोलीबिच फाइनल खेल हुनेछ ।
प्रतियोगिताको अनुमानित बजेट ३ कुरोड ७७ लाख ७७ हजार रहेको र विजेता टोलीले १० हजार र उपविजेता टोलीले पाँच हजार तथा सहभागी अन्य तीन टिमलाई दुई हजार अमेरिकी डलर पुरस्कार प्रदान गरिने एन्फाले जनाएको छ ।
