काठमाडौं । जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत एवं उपसचिव हरिहरकान्त पौडेललाई परराष्ट्र मन्त्रालयले स्वदेश फिर्ता बोलाउने निर्णय गरेको छ।
उच्च स्रोतका अनुसार सेवाग्राहीका काममा अनावश्यक ढिलासुस्ती गरेको, काम गरिदिने नाममा रकम मागेको तथा सेवा लिन आउने नेपाली नागरिकलाई हैरानी दिएको भन्दै पटक–पटक गुनासो आएपछि मन्त्रालयले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो।
प्राप्त जानकारीअनुसार पौडेलमाथि भोटेकोशी बाढीपीडितका लागि जापानी पक्षबाट उपलब्ध गराइएको भनिएको सहयोग सरकारी कोषमा जम्मा नगरेको आरोपसमेत लागेको छ।
यद्यपि, उक्त सहयोगको रकम, प्रकृति र सरकारी कोषमा जम्मा भए–नभएको विषयमा अहिलेसम्म आधिकारिक विवरण सार्वजनिक भएको छैन।
कतार, इजरायल र स्पेनस्थित नेपाली कूटनीतिक नियोगमा समेत कार्यरत रहिसकेका पौडेलको कार्यशैलीलाई लिएर विगतमा पनि प्रश्न उठ्ने गरेको स्रोतको भनाइ छ।
विशेषगरी स्पेनस्थित नेपाली राजदूतावासमा कार्यरत रहँदा उनको भूमिकालाई लिएर विवाद भएको विषय पुनः चर्चामा आएको छ। कतार र इजरायलमा रहँदासमेत उनको कार्यसम्पादनबारे आलोचना भएको बताइएको छ।
पौडेल जापानस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख हुन्। जापानका लागि नेपाली राजदूत फिर्ता भएपछि उनले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएका थिए।
जापानमा रहेका नेपाली नागरिकले राहदानी, कन्सुलर सेवा तथा अन्य प्रशासनिक कामका लागि नेपाली दूतावासबाट सेवा लिँदै आएका छन्।
दूतावासका उच्च अधिकारीमाथि नै सेवाग्राहीलाई दुःख दिएको र आर्थिक अनियमितताको आरोप लागेपछि यस विषयले जापानस्थित नेपाली समुदायमा चासो बढाएको छ।
उनी आफ्नै शैलीका कारण जापानमा चर्को आलोचनाको पात्र बनेका छन्।

