काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट पदमुक्त गरिएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।
आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध कार्कीले सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन्। सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार रिट दर्ताका लागि पेस भइसकेको छ र दर्ता प्रक्रिया अघि बढिरहेको छ।
सर्वोच्च जाने विषयमा कानुन व्यवसायीहरूसँग परामर्श गरेपछि उनले रिट दर्ताको तयारी गरेका हुन्।
कार्कीले आफूलाई पदबाट हटाउनुअघि स्पष्टीकरण सोध्ने तथा आफ्नो कुरा राख्ने सुनुवाइको अवसरसमेत नदिइएको दाबी गरेका छन्। यही प्रक्रियागत त्रुटिलाई आधार बनाएर उनले सरकारको निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन्।
रिट दर्ता भएपछि सर्वोच्च अदालतले यस विषयमा गर्ने प्रारम्भिक आदेश र सुनुवाइलाई चासोका साथ हेरिएको छ।

