काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको हालै गरिएको सरुवामध्ये विवादमा परेको एउटा निर्णय अन्ततः सच्याइएको छ। गृह मन्त्रालयले १८ जेठमा गरेको सरुवाअन्तर्गत नेपाल प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रमुख एसएसपी शान्तिराज कोइरालालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखमा पठाउने निर्णय गरेको थियो।
उक्त सरुवाले प्रहरी संगठनभित्रै प्रश्न उठाएको थियो। कारण, कोइराला त्यसअघि पनि प्रदेश प्रहरी कार्यालयको प्रमुखकै जिम्मेवारीमा थिए र उनलाई अर्को इन्चार्ज पदमै सरुवा गरिएको थियो। प्रहरी सरुवासम्बन्धी स्थापित अभ्यास र मापदण्डविपरीत ‘इन्चार्जबाट इन्चार्ज’ जिम्मेवारी दिइएको भन्दै निर्णयको आलोचना भएको थियो।
यस विषयमा स्कुपखबर डटकमले १९ जेठमा ‘प्रहरीमा भत्काइयो मापदण्डः श्रीमतीको पहुँचमा घिमिरेलाई काठमाडौं, कोइराला इन्चार्जबाट फेरि इन्चार्ज’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशित भएपछि प्रहरी संगठनभित्र मात्र होइन, सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा समेत सरुवाको विषय चर्चाको केन्द्र बनेको थियो।
बढ्दो आलोचना र प्रश्नपछि सरकार निर्णय पुनरावलोकन गर्न बाध्य भएको स्रोतले जनाएको छ। त्यसपछि कोइरालाको सरुवा निर्णय सच्याउँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखमा एसएसपी सुरेशप्रसाद काफ्लेलाई पठाउने निर्णय गरिएको छ।
काफ्ले प्रहरी संगठनभित्र व्यावसायिक, अनुभवी र कार्यसम्पादनमा सक्षम अधिकृतका रूपमा चिनिन्छन्। ट्राफिक व्यवस्थापन, प्रशासनिक नेतृत्व तथा संगठन सञ्चालनमा उनको अनुभवलाई आधार बनाएर जिम्मेवारी दिइएको प्रहरी स्रोतको भनाइ छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नेपाल प्रहरीको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण युनिटमध्ये एक मानिन्छ। राजधानीको सवारी व्यवस्थापन, सडक सुरक्षा, ट्राफिक अनुशासन कायम गर्ने तथा दुर्घटना न्यूनीकरण गर्ने जिम्मेवारी यही कार्यालयमा केन्द्रित हुने भएकाले यसको नेतृत्व चयनलाई विशेष महत्वका साथ हेरिन्छ।
सरुवाको निर्णय सार्वजनिक भएपछि उठेका प्रश्न र सञ्चारमाध्यमले गरेको खबरदारीपछि अन्ततः निर्णय सच्याइएको भन्दै प्रहरी वृत्तमा यसलाई ‘समाचार प्रभाव’का रूपमा हेरिएको छ।
यो पनि पढ्नुहोस्…
एसएसपी सरुवा निस्कियोः काठमाडौंमा घिमिरे, ललितपुरमा कार्की र ट्राफिकमा कोइराला
प्रहरीमा भत्काइयो मापदण्ड : श्रीमतीको पहुँचमा घिमिरेलाई काठमाडौं, कोइराला इन्चार्जबाट फेरि इन्चार्ज
