काठमाडौं । गृह मन्त्रालयले सोमबार ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा गरेसँगै प्रहरी संगठनभित्र सरुवाको मापदण्ड, चेन अफ कमाण्ड र नेतृत्व छनोट प्रक्रियामाथि बहस सुरु भएको छ। विशेषगरी काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा गरिएको नेतृत्व परिवर्तनले संगठनभित्रै अनेक प्रश्न उठाएको छ।
गृह प्रशासनको समेत नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहले गरिरहेका छन्। यद्यपि एसएसपी सरुवाको निर्णय गृहमन्त्रीस्तरबाट हुने व्यवस्था छ। प्रहरी संगठनमा हस्तक्षेप नगर्ने नीति लिएका शाहले यसपटकको एसएसपी सरुवामा भने प्रत्यक्ष प्रभाव पारेको चर्चा प्रहरी वृत्तमा छ।
काठमाडौं प्रहरी परिसरको नेतृत्व एसएसपी दिलीप घिमिरेलाई दिइएको छ भने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी एसएसपी शान्तिराज कोइरालाले पाएका छन्। यतिबेला दुवै जनाको सरुवालाई लिएर प्रहरी वृत्तमा व्यापक चर्चा भइरहेको छ।
प्रहरी संगठनमा सामान्यतया वरिष्ठता, कार्यसम्पादन, नेतृत्व क्षमता तथा संस्थागत आवश्यकता हेरेर जिम्मेवारी दिने प्रचलन छ। तर यसपटकको सरुवामा ती आधारभन्दा बाहिर गएर निर्णय गरिएको आरोप लागिरहेको छ।
पूर्वगृहमन्त्री सुधन गुरुङको दबाबमा प्रधानमन्त्री शाहले काठमाडौं परिसरमा घिमिरेको सरुवा गर्न बाध्य भएको चर्चा छ। जबकि उनीभन्दा सिनियर एसएसपीहरू हुँदाहुँदै घिमिरेले काठमाडौं परिसरको जिम्मेवारी कसरी पाए भन्ने प्रश्न संगठनभित्र उठ्न थालेको छ।
घिमिरेको सरुवामा श्रीमतीको दौडधुप
एसएसपी घिमिरे २०५८ सालमा प्रहरी निरीक्षक बनेको ब्याचबाट तेस्रो चरणमा एसएसपीमा बढुवा भएका अधिकृत हुन्। उनीभन्दा अघि सोही ब्याचका धेरै अधिकृत एसएसपीमा बढुवा भइसकेका थिए। बढुवा भएको छोटो समयमै देशकै सबैभन्दा संवेदनशील र महत्वपूर्ण मानिने काठमाडौं प्रहरी परिसरको नेतृत्व पाउनु आफैंमा चासोको विषय बनेको छ।
प्रहरी वृत्तमा घिमिरेको काठमाडौं सरुवालाई लिएर विभिन्न टिप्पणी भइरहेका छन्। केही अधिकारीहरूका अनुसार यो सरुवा नियमित प्रक्रिया भन्दा पनि पहुँच र शक्ति केन्द्रसँगको निकटताका कारण सम्भव भएको चर्चा छ।
कमजोर कमाण्ड क्षमताका घिमिरेलाई काठमाडौंको कमाण्डमा कसले पुर्यायो भन्ने प्रश्न पनि उठिरहेको छ। प्रधानमन्त्री शाह सांसदमा निर्वाचित भएको जिल्ला झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसुन्धारा खड्का हुन्। घिमिरे र खड्का श्रीमान–श्रीमती हुन्।
प्रहरी स्रोतका अनुसार एसपी खड्काकै जोडबल र पहुँचका कारण घिमिरेले काठमाडौं परिसरको नेतृत्व पाएको चर्चा छ। झापामा निर्वाचन गराउँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग निकटता बढाएकी खड्काले जसरी पनि श्रीमानलाई काठमाडौं प्रहरी प्रमुख बनाउन सक्रिय भूमिका खेलेको आरोप लाग्ने गरेको छ।
आफ्नो कमाण्ड रहेको जिल्ला झापाभन्दा पनि श्रीमानको सरुवामा बढी सक्रिय भएको आरोप उनीमाथि लाग्ने गरेको छ। श्रीमतीको जोडबलमा काठमाडौं परिसर पुगेका घिमिरेलाई प्रहरी संगठनभित्र चाप्लुसीमा खप्पिस अधिकृतका रूपमा समेत चिन्नेहरू छन्।
कोइराला इन्चार्जबाट फेरि इन्चार्ज
त्यस्तै एसएसपी शान्तिराज कोइराला पनि रास्वपा निकट नेताहरूको विश्वास जित्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको कमाण्डमा पुगेको चर्चा छ। जबकि प्रहरी संगठनमा सामान्यतया इन्चार्जबाट फेरि अर्को समान स्तरको इन्चार्ज पदमा सरुवा गर्ने अभ्यास छैन। तर कोइरालाले भने यस्तो अवसर पाएका हुन्।
तर प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई समेत झुक्याएर वा दबाबमा पारेर कोइरालालाई इन्चार्जबाट इन्चार्जमा पठाइएको बताइन्छ। यसले प्रहरी संगठनकै स्थापित अभ्यासमाथि प्रश्न उठाएको छ।
यसअघि नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्सा (हाल जनकपुरस्थित कार्यालय) मा इन्चार्ज रहेका कोइरालालाई फेरि ट्राफिक प्रहरी प्रमुख बनाएर पठाइएको हो।
प्रहरी महानिरीक्षक कार्कीले यसमा अडान लिन नसकेका हुन् वा झुक्याएर यस्तो निर्णय गराइयो भन्ने प्रश्न उठ्न थालेको छ। यसले भविष्यमा हुने सरुवाहरूमा समेत समस्या निम्त्याउने जानकारहरू बताउँछन्। के अब प्रहरी संगठनमा ‘चेन अफ कमाण्ड’ भत्किएको हो भन्ने प्रश्नसमेत उठ्न थालेको छ।
स्रोतका अनुसार यस्तो सरुवाका पछाडि प्रधानमन्त्री शाहका सल्लाहकार र गृह प्रशासनमा रास्वपाबाट नियुक्त भएका केही व्यक्तिहरूको दबाब रहेको बताइन्छ। उनीहरूबीच आर्थिक चलखेलसमेत भएको चर्चा प्रहरी वृत्तमा छ।
यसले संगठनभित्र ‘इन्चार्जबाट फेरि इन्चार्ज’ पठाउने नयाँ अभ्यास सुरु भएको हो कि भन्ने प्रश्न जन्माएको छ। यदि यही अभ्यासलाई मान्यता दिने हो भने भविष्यमा अन्य अधिकृतहरूले पनि समान अवसरको माग गर्ने अवस्था आउन सक्ने प्रहरी अधिकारीहरू बताउँछन्।
0000
त्यसैगरी कोशी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा, विराटनगरमा सरुवा भएका एसएसपी भीमबहादुर दाहालको सरुवालाई लिएर पनि चर्चा छ। प्रहरी सेवाको लामो अवधि पूर्वी क्षेत्रमा बिताएका दाहाल पुनः सोही क्षेत्रमा फर्किन सफल हुनु संयोग मात्र हो वा प्रभावको परिणाम भन्ने प्रश्न पनि उठिरहेको छ।
उनीसँग नजिक रहेका अधिकृतहरूका अनुसार दाहालले प्रहरी सेवाको अधिकांश समय विराटनगर र आसपासकै क्षेत्रमा बिताएका छन्। हरेक दर्जामा पूर्व क्षेत्रमा बस्न सफल हुनु उनको प्रभावको परिणाम भएको टिप्पणीसमेत हुने गरेको छ।
यसबीच ललितपुर प्रहरी परिसरमा एसएसपी तुलबहादुर कार्की, लागूऔषध नियन्त्रण ब्यूरोमा एसएसपी सुबासचन्द्र बोहोरा तथा मानव बेचबिखन अनुसन्धान ब्यूरोमा एसएसपी नकुल पोखरेलको सरुवा भएको छ। संगठनभित्र उनीहरूलाई व्यवसायिक र सक्षम अधिकृतका रूपमा हेरिन्छ।
एसएसपी सरुवापछि सबैभन्दा ठूलो प्रश्न प्रहरी संगठनको मापदण्ड र चेन अफ कमाण्डबारे उठेको छ। यसपटकको सरुवामा प्रहरी संगठनले वर्षौंदेखि अपनाउँदै आएको दुई महत्वपूर्ण अभ्यासमाथि प्रश्न उठेको छ।
पहिलो, सिनियर अधिकृतहरू हुँदाहुँदै तुलनात्मक रूपमा जुनियर एसएसपी घिमिरेलाई देशकै सबैभन्दा संवेदनशील मानिने काठमाडौं प्रहरी परिसरको नेतृत्व दिइएको छ।
दोस्रो, प्रहरी संगठनभित्र इन्चार्जबाट फेरि अर्को इन्चार्ज पदमा सरुवा नगर्ने अभ्यास रहँदै आएको अवस्थामा एसएसपी कोइरालालाई प्रदेशस्तरीय इन्चार्जबाट सिधै ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
यिनै दुई निर्णयका कारण प्रहरी संगठनमा मापदण्ड भत्काइएको, चेन अफ कमाण्ड कमजोर बनाइएको तथा संस्थागत प्रक्रियाभन्दा पहुँच र शक्तिकेन्द्रको प्रभाव हावी भएको आरोप लाग्न थालेको छ।
सरुवा कुनै पनि संगठनको नियमित प्रक्रिया भए पनि त्यसले न्याय, निष्पक्षता, वरिष्ठताको सम्मान र समान अवसरको अनुभूति गराउन सक्नुपर्छ। अन्यथा सरुवाले व्यवस्थापनभन्दा बढी असन्तुष्टि उत्पादन गर्छ।
यसपटकको एसएसपी सरुवाले पनि त्यही प्रश्न उठाएको छ- के प्रहरी संगठनमा स्थापित मापदण्ड जानाजान भत्काइयो, वा संस्थागत निर्णय प्रक्रियामाथि राजनीतिक तथा व्यक्तिगत प्रभाव हावी हुन थाल्यो?
यो पनि पढ्नुहोस्…
एसएसपी सरुवा निस्कियोः काठमाडौंमा घिमिरे, ललितपुरमा कार्की र ट्राफिकमा कोइराला
