- सुजन पन्त
काठमाडौं । ५ साउनमा प्रहरी प्रधान कार्यालयले आफू मातहतका ब्यूरो, प्रदेश, जिल्ला तथा इलाका प्रहरी कार्यालयहरूलाई परिपत्र गर्दै अदालतले प्रमाणित नगर्दासम्म आरोपीहरूको फोटो/भिडिओ सार्वजनिक नगर्न निर्देशन दियो ।
अबदेखि आरोपीलाई समेत प्रेस मिटहरूमा सार्वजनिक नगर्ने निर्णय भएको जतिबेला नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले नै बताएका थिए ।
उनले त्यतिबेला भनेका थिए, ‘कुनै कसुरमा पक्राउ परेका आरोपी अदालतले प्रमाणित नगर्दासम्म घटनाको दोषी नै हुन् भन्न सकिँदैन । त्यसैले पक्राउ परेकै आधारमा उनीहरूलाई सार्वजनिक नगर्न भनेका हौं ।’
यसअघि महान्यायाधिवक्ताको कार्यालयले १९ असारमा कुनै पनि कसुरको आरोपीहरूलाई सार्वजनिक नगर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आरोपीको तस्बिर सार्वजनिक नगर्न प्रहरी हेडक्वार्टरले ५ साउनमा परिपत्र गरेको हो ।
तर, प्रहरी हेडक्वार्टरको उक्त परिपत्र, निर्देशन लागूऔषध नियन्त्रण ब्यूरोले लत्याएको छ । मतलब हेडक्वार्टरको परिपत्रलाई लत्याउँदै पक्राउ परेका आरोपीको तस्बिर सार्वजनिक गरेको छ । आजैमात्र ब्यूरोले हवाई फायर गरेर पक्राउ गरेका लागूऔषध कारोबारीको तस्बिर सार्वजनिक गरेको हो ।
गोप्य सूचनाका आधारमा आइतबार बिहान लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोली छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुर पुगेको थियो । प्रहरीलाई देख्नासाथ कारोबारी भाग्ने प्रयास गरेपछि हवाई फायर गरी दुई जनालाई नियन्त्रणमा लियो ।
पक्राउ पर्नेमा सप्तरीका विशाल राय र मनोज राय रहेका छन् । तर, उनीहरुलाई समातेर हतकडि लगाएको फोटो ब्यूरोले प्रहरी प्रधान कार्यालयको निर्देशनलाई अवज्ञा गर्दै सार्वजनिक गरेको छ । फोटोमा ब्यूरोबाट खटिएका प्रहरी कर्मचारीहरु पनि देखिन्छन् ।
जबकी वैयक्तिक गोपनियता सम्बन्धी ऐन, २०७५ मा कुनै पनि व्यक्तिलाई अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिएको समयमा अभियोगपत्र दर्ता नभएसम्म सार्वजनिक गर्न नमिल्ने पनि उल्लेख छ ।
यसरी काम गरेको देखाउने बहानामा लागूऔषध ब्यूरोले प्रहरी हेडक्वार्टरको आदेश लत्याएको हो । पछिल्लो समय कमजोर कार्यक्षमताका ब्यूरोका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइराला विवादमा तानिएका छन् ।
सूचना दिएको आरोप लगाएर एकजना सहायक हवल्दारमाथि रिसिईबी साँधिरहेका एसएसपी कोइराला काम देखाउने बहानामा मिडियाबाजी गरिरहेका छन् । स्टन्टबाजी गर्ने स्वभावका उनले आदेशलाई लत्याउँदा उनीमाथि प्रहरी हेडक्वार्टरले के गर्ला ? प्रश्न उब्जिएको छ ।
तल्लो तहका कर्मचारीलाई देखी नसहने एसएसपी कोइरालाले प्रहरी प्रधान कार्यालयको निर्देशन नै अवज्ञा गरेर तस्बिर सार्वजनिक गर्दा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले कस्तो कदम चाल्छन् त्यो हेर्न बाँकी छ ।
यस विषयमा प्रहरी प्रवक्ता डीआईजी घिमिरेले फोटोबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, ‘त्यो फोटो आजकै हो र ? यस विषयमा म थप बुझ्नेछु ।’
यो पनि पढ्नुहोस्…
सहायक हवल्दारमाथि एसएसपी कृष्ण कोइरालाको अत्याचार, आईजी किन मौन ?
एसएसपी कृष्ण कोइरालाः कार्यक्षमतामा कमजोर, विवादित खत्रीलाई किन कार्गो पठाए ?
रक्सीले लठ्ठिएका हवल्दारले इन्स्पेक्टरको कान ताने, एसएसपीले स्पष्टीकरण सोध्ने आँट समेत गरेनन्
लागूऔषध नियन्त्रण ब्यूरो विवादमा: कारोबारी समात्दै छाड्दै, एसएसपी लिन सक्दैनन् अडान
