विराटनगर । सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा प्रहरीले घरमा सूचना टाँसेपछि विराटनगरका अभिषेक गिरीले प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालयले आफूलाई फसाउने खेल खेलेको आरोप लगाउँदै आगामी १५ गतेभित्र बयानका लागि उपस्थित हुने बताएका छन् ।
विराटनगरको मधुमारास्थित घरमा शुक्रबार सूचना टाँसिएपछि शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गिरीले प्रशासनले डर र त्रास देखाएर ‘स्टन्टबाजी’ गरिरहेको आरोप लगाए ।
आफू यसअघि सम्पत्ति शुद्धीकरण विभाग, विशेष अदालत र सर्वोच्च अदालतबाट सफाइ पाइसकेको दाबी गर्दै उनले पटक–पटक दुःख दिने काम भइरहेको बताए । मोरङमा तस्करी र हत्याहिंसाका घटना बढ्दा प्रशासन मौन बसेको तर आफूलाई मात्रै निशाना बनाइएको उनको आरोप छ ।
‘पटक–पटक मलाई फसाउने कार्य भइरहेको छ । एउटै व्यक्तिलाई पटक–पटक दुःख दिने काम हुँदै आएको छ,’ उनले भनेका छन् ।
आफूलाई फसाउने र मार्ने षड्यन्त्र अझै कायम रहेको दाबी गर्दै गिरीले कानुनी प्रक्रिया पूरा गर्न तोकिएको समयमै विराटनगर आउने बताएका छन् । पारिवारिक उपचारका क्रममा बाहिर रहेको उनको भनाइ छ । तर, प्रहरी उच्च स्रोतका अनुसार उनी भारतमा छन् ।
यसअघि मोरङ कारागारका कैदीबन्दीलाई वितरण गर्नुपर्ने १३ लाख रुपैयाँभन्दा बढी भत्ता हिनामिना प्रकरणमा गिरी गत असार १३ गते पक्राउ परेका थिए । उच्च अदालत विराटनगरको आदेशपछि असार २३ गते रिहा भएका उनलाई सोही दिन सीआईबीले पुनः पक्राउ गरी काठमाडौं लगेको थियो ।
साउन २१ गते छुटेका गिरीलाई मोरङ प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो । पछि उजुरीकर्तासँग मिलापत्र भएपछि उनी रिहा भएका थिए ।

