काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राजुनाथ पाण्डेले आफ्नै पार्टीका सांसदहरूप्रति कटाक्ष गरेका छन् ।
२० जना सांसद चीन भ्रमणमा जान लागेको सन्दर्भमा पाण्डेले सामाजिक सञ्जालमार्फत विदेश भ्रमणलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘जिम्मेवारी र कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ….अचम्म ! लाज पनि लजायो कि ! कुरीकुरी । जय मातृभूमि नेपाल।’
रास्वपाका २० सांसद आइतबार छिमेकी मुलुक चीनको ११ दिने भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा हुन लागेको भ्रमण टोलीले शनिबार पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको थियो ।
चीन भ्रमणका क्रममा तय हुने कार्यक्रम तथा आवश्यक विषयमा छलफल गर्न प्रतिनिधिमण्डलले लामिछानेसँग भेट गरेको हो । यसअघि शुक्रबार प्रतिनिधिमण्डलले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’सँग पनि भेट गरेको थियो ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको भ्रमण टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी तथा अन्य २० सांसद सहभागी छन् ।

