काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई कुनै निर्देशन वा दबाब नदिएको पार्टीका प्रवक्ता एवं सांसद जगदीश खरेलले दाबी गरेका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले आईजीपीलाई हटाउने वा पदमा कायम राख्ने निर्णय सरकारकै विवेकमा निर्भर रहने बताए ।
सरकारले दानबहादुर कार्कीलाई हटाएर डा. मनोज केसीलाई आईजीपी नियुक्त गरेपछि उक्त निर्णयको आलोचना भइरहेका बेला खरेलको यस्तो अभिव्यक्ति आएको हो । सरकारको निर्णयप्रति पार्टीभित्रैबाट समेत प्रश्न उठिरहेका छन् ।
खरेलले आईजीपी हटाउन वा यथावत् राख्न पार्टीले कुनै निर्देशन नदिएको स्पष्ट पारे । उनले भने, ‘नेपाल प्रहरीका आईजीपीलाई हटाउने वा यथावत् राख्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन । आईजीपीलाई हटाऊ वा राख भन्ने दुवै किसिमको निर्देशन पार्टीले नदिएको कुरा म पुनः स्पष्ट पार्न चाहन्छु । यो सरकारको विवेक र निर्णयको विषय हो ।’
आईजीपीसँग सम्बन्धित विषय अदालतसम्म पुगिसकेको र कानुनी प्रक्रिया अघि बढिरहेको अवस्थामा पार्टीले थप टिप्पणी गर्नु उपयुक्त नहुने उनको भनाइ छ । आवश्यक परे सरकारले यसबारे थप धारणा सार्वजनिक गर्ने उनले बताए ।

