काठमाडौं । १७ असार राति बा २९ च ६४९१ नम्बरको नीजि रातो कारले गोगंबु नयाँ बसपार्कमा नम्बर नखुलेको एउटा गाडी र मोटरसाइकललाई ठक्कर दियो । गाडी चालक थिए, लागूऔषध नियन्त्रण ब्यूरोका सहायक हवल्दार सत्य कठायत ।
उनी ब्यूरोकै अप्रेशन कमाण्डर प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवका नीजि सहयोगी हुन् भन्दा फरक नपर्ला ।
इन्स्पेक्टर यादवसहित ब्यूरोका ६/७ जनाको समूह विदेशबाट नेपाल फर्किएका एकजना साथीको पार्टी खाइपिइ गरेर घर फर्कने क्रममा कठायतले चलाएको गाडीले अन्य सवारीसाधनलाई ठक्कर दिएको थियो ।
त्यसपछि घटनाले अर्कै मोड लियो
जतिबेला गाडीमा सहायक हवल्दार कठायतसँगै पार्टी दिने साथी पनि सँगै थिए । त्यसअघि नै उनीहरुले इन्स्पेक्टरसहितलाई घर घरमा लगेर छोडिसकेका हुन्छन् । साथीको निमन्त्रणमा पार्टीमा पुगेका कठायतले मापसे गरेका थिए । मापसेकै तालम उनले गाडी चलाएका हुन् ।
गाडी दुर्घटनापछि घटनास्थल पुगेका एक प्रहरीकाअनुसार ह्वास्सै मापसेको गन्ध आएको थियो । रक्सी खाएर गाडी चलाउने भन्दै ठक्कर खाएका मोटरसाइकल चालक र गाडी चालकले छलफल गर्दा उल्टो हवल्दार कठायतले म को हो चिनेको छस् ? भन्दै थर्काउन समेत भ्याए ।
जतिबेला बिहानको ४ बजिसकेको थियो । चर्को चर्को स्वर गरेपछि एकैछिनमा नयाँ बसपार्क ट्राफिक प्रहरीका इन्स्पेक्टर पनि घटनास्थल पुग्छन् । झिसमिसे भएकाले उनी सिभिल डेसमा पुगेका हुन्छन् । तर, कठायतले त्यहिँ ट्राफिक इन्स्पेक्टरको कान तानिदिन्छन् । त्यसपछि इन्स्पेक्टरले उनलाई थप केरकार गर्न कार्यालय लैजान्छन् ।
प्रहरी प्रभाग नयाँ बसपार्क र ट्राफिकको कार्यालय सँगै छ । उनीहरुलाई प्रभागको कार्यालयमा केरकार गरिन्छ । त्यहाँ पनि कठायतले चर्को चर्को स्वर गरेर कराइरहेका थिए । अत्याधिक मापसे गरेर चर्को चर्को स्वरमा बोलेर हैरानी दिएपछि उनलाई त्यसपछि प्रहरी वृत्त महाराजगञ्ज लगिन्छ ।
महाराजगञ्ज वृत्तमा पुर्याउनासाथ उनीहरुलाई हिरासत कक्षमा लगिन्छ । हिरासतमा पठाउनुअघि जो कोहीको पनि भएको सरसामान हिरासत कक्षमा ड्युटी गर्ने प्रहरीलाई बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप उनीहरुको सामान ड्युटीमा खटिएको प्रहरीले माग्यो ।
जतिबेला सहायक हवल्दारले पेस्तोल समेत दिए । हवल्दारले पेस्तोल बोकेपछि त्यहाँ कार्यरत प्रहरी आफैं अचम्ममा पर्यो । सोघपुछ गर्दै जाँदा उक्त पेस्तोल आफ्ना विश्वासिला हाकिम इन्स्पेक्टर यादवको रहेको खुल्यो । जुन पेस्तोल उनै हवल्दार कठायतले बोकेका थिए ।
पेस्तोल देखेपछि ड्युटी अफिसरले आफ्नो हाकिमलाई जानकारी गराउँछन् । त्यसपछि उनीहरुलाई मेडिकल गर्न लगिन्छ । मेडिकलपश्चात उनीहरुलाई महाराजगञ्जका डिएसपीको कार्यालयमा लगिन्छ ।
प्रहरी नै मापसे गरेर होहल्ला गर्दै हिँडेपछि महारागजञ्का डिएसपीले उनीहरुलाई थप अनुसन्धानको लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी पठाउन खोज्छन् । तर, ब्यूरोकै बरिष्ठ सई बालकृष्ण सन्जेलको दबाबमा उनीहरुलाई रानीपोखरी नपठाएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) पठाउने सर्तमा छाडिन्छ ।
सिआईबी मातहत लागूऔषध नियन्त्रण ब्यूरो पर्ने भएकाले त्यहाँ पठाउने भनिएको थियो । सिआईबीको नेतृत्वमा एआईजी चन्द्रकुवेर खापुङ छन् । जुनकुराको रिपोर्टिङ बसपार्क ट्राफिक इन्स्पेक्टरले ‘चेन अफ कमाण्ड’ भत्काएर सिधै एआईजी खापुङलाई पहिल्यै नै गराइसकेका थिए ।
त्यसपछि पेस्तोल र हवल्दार कठायतलाई सिआईबी पनि नलगी सई सन्जेलले आफ्नै कार्यालयमा लैजान्छन् । त्यसपछि उनै सन्जेलले घटनाबारे ब्यूरोका कार्यालय प्रमुख एसएसपी कृष्ण कोइरालालाई रिपोर्टिङ गर्छन् ।
तर, कठायतको उदण्डलाई एसएसपी कोइरालाले समेत वास्ता गर्दैनन् । एउटा स्पष्टीकरण सोध्ने आँट समेत एसएसपी कोइरालाले गरेको देखिन्न । यसरी शक्तिको आडमा हवल्दार कठायतले गरेको दुरुपयोगलाई एसएसपी कोइरालाले ढाकछोप गरेको बताइन्छ ।
अहिले पनि उनै हवल्दारलाई एसएसपी कोइरालाले दुर्घटना पहिल्यै जिम्मेवारी जे दिइएको थियो, त्यहिअनुसार परिचालन गरेका छन् । यसरी मापसे गरेर प्रहरी संगठनकै बद्नाम हुने काम गरेका कठायतलाई एसएसपी कोइरालाले काखी च्याप्नुको अर्थ विस्तारै खुल्दै जाला ।
उठै कठायतलाई पूर्वआईजीपी वसन्त कुँवरले एक वर्षमा ७ ठाउँमा सरुवा गरेका थिए । तर, एसएसपी कोइरालाले शक्तिको दुरुपयोग गर्दै अहिले पुनः ब्यूरोमा हालीमुहाली गर्न उनै कठायतलाई ल्याएका हुन् ।
यस विषयमा उपत्यका प्रहरी कार्यालयका एआईजी टेक तामाङलाई समेत थाहा छ । तर, उनले समेत हवल्दार कठायतलाई कारबाही गर्न सकेका छैनन् ।
(नोटः सहायक हवल्दारको ठमेलस्थित एक होस्टलमा लगानी छ, जहाँ के के हुन्छ ? अर्को श्रृखंलामा । त्यस्तै एसएसपी कोइरालाको सेटिगंबारे त्यसपछिको श्रृखंलामा ।)
यो पनि पढ्नुहोस्…
लागूऔषध नियन्त्रण ब्यूरो विवादमा: कारोबारी समात्दै छाड्दै, एसएसपी लिन सक्दैनन् अडान
