काठमाडौं । १७ जेठमा गृह मन्त्रालयले २८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गर्यो । जसमा लागूऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा एसएसपी कृष्ण प्रसाद कोइरालाको सरुवा भएको थियो ।
करिब डेढ महिना भयो उनले ब्यूरोको जिम्मेवारी सम्हालेको । तर, यतिबेला एसएसपी कोइरालाको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ ।
ब्यूरोको टोली देशभर परिचालित छ । जसमध्ये पनि काठमाडौं उपत्यकामा झनै धेरै ठाउँमा ब्यूरोको टोली खटिन्छन् । उनीहरुको काम लागूऔषध नियन्त्रण गर्नु र लागूऔषधमा संलग्नलाई कानुनी दायरामा ल्याउनु हो ।
तर, ब्यूरो गएपछि एसएसपी कोइरालाको ध्याउन्न कामभन्दा बढी मिडियाबाजी र कमाउतर्फ देखिएको छ ।
लामो समयदेखि काजमा खटिएका प्रहरीहरुलाई फिर्ता पठाएर राम्रो काम गरेको भन्दै मिडियाबाजी गरेका कोइरालाले कमाइको हिसाबले राम्रो मानिएको ठाउँहरुमा विवादित मान्छेहरुलाई पठाएको पाइएको छ ।
केही दिनअघि स्कुपखबरमा ‘लागूऔषध नियन्त्रण ब्यूरो विवादमा: कारोबारी समात्दै छाड्दै, एसएसपी लिन सक्दैनन् अडान’ शीर्षकमा समाचार छापिएपछि उनले आफूले काजमा रहेका २४ प्रहरीलाई फिर्ता गरेर राम्रो काम गरेको भन्दै मिडियाबाजी गरे ।
जबकी स्कुपखबरमा समाचार नआउन्जेल उक्त काज फिर्ताको कुरा कहिँकतै मिडियामा आएको थिएन । स्कुपखबरमा समाचार आएपछि उनले मिडियाबाजी गरेका हुन् ।
स्कुपखबरमा समाचार असार ३० गते पहिलोपटक छापिएको थियो । त्यसपछि ३१ गते एसएसपी कोइरालाले अन्य मिडियालाई काजमा पठाएको भन्दै समाचार लेखाएका हुन् । जुनकुरा अनलाइनखबरमा प्रकाशित समाचारको स्क्रिनसर्ट हेर्नुहोस् ।

एसएसपी कोइराला मिडियामा जति रमाएपनि पावर सेन्टरबाट दबाब थेग्न नसकेपछि ३ जनालाई रमाना नदिई ब्यूरोमै राखेर परिचालन गरेको स्रोत बताउँछ ।
त्यतिमात्र नभएर एसएपी कोइरालाले काज फिर्ता गरेपछि विभिन्न ठाउँहरुमा ब्यूरोको अर्को टोली पठाएका छन् । जसमा अधिकांश विवादित पात्रलाई पठाएका छन् ।
काजमा रहेकालाई फिर्ता गरेर एसएसपी कोइरालाले सबैभन्दा धेरै कमाइ हुने विमानस्थल भन्सार कार्गोमा सहायक हवल्दार प्रकाश खत्रीलाई पठाएका छन् । मापदण्ड मिचेर कोइरालाले खत्रीलाई त्यहाँ पठाएका हुन् ।
जबकी खत्री कुनैबेला १०० रुपैयाँ घुसकाण्डमा मुछिएर निलम्बनमा परेका प्रहरी हुन् । उनै खत्रीलाई कमाइ हुने कार्गोको जिम्मेवारी दिएर एसएसपीले पुरस्कृत गरेका छन् ।
ब्यूरोले पास गरेको सामान भन्सार कार्यालयले समात्यो
हिजो अर्थात साउन १५ गते मात्रै विमानस्थलबाट ठूलो मात्रामा सुकुटी र चुरोट बरामद भएको छ । जुन सामान विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो ।
सामान चेक गर्ने एक्सरे मेसिन कटेर पास भएपछि सुकुटी र चुरोट बरामद भएको कार्यालयले जनाएको छ । जबकी एक्सरे मेसिन चेकिगंमा ब्यूराको टोली खटिन्छ । तर, ब्यूरोको टोलीले उक्त सामान पास गराइदिए पनि भन्सार कार्यालयले नियन्त्रणमा लिन सफल भएको हो ।
विमानस्थलमा ब्यूरोको आम्दानीको स्रोत नै चुरोट, सुकुटी जस्ता पास गराउने हो । त्यस्ता सामान पास गराउनकै लागि खत्रीलाई एसएसपी कोइरालाले विमानस्थल पठाएका थिए । तर, विमानस्थल भन्सार कार्यालयले कडाइ गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत बन्द भएको छ ।
त्यस्तै नागढुंगा चेकपोष्टमा समेत विवादित प्रहरी पठाएका छन् । त्यतिमात्र नभएर डिल्लीबजारस्थित हुलाक कार्यालयमा पनि विवादित प्रहरीलाई नै पठाएका छन् । जबकी ति ठाउँहरु आथिर्क हिसाबाले राम्रो कमाइ हुने ठाउँ हो ।
कमजोर कार्यक्षमताका एसएसपी कोइराला पछिल्लो समय जुनियर प्रहरीहरुका कुरा सुन्नाले ठ्याक्कै निर्णय लिन सक्दैनन् । तल्लो दर्जाका एक प्रहरीको सिफारिसमा एसएसपी कोइरालाले विवादित प्रहरीहरुलाई कमाउनकै लागि भनेर पठाएको स्रोत बताउँछ ।
त्यतिमात्र होइन, मानव बेचबिखन ब्यूरोले फिर्ता गरेका विवादित सई दिव्या मोक्तानलाई उनै एसएसपी कोइरालाले अप्रेशन टोलीमा राखेर परिचालन गरेका छन् ।
त्यस्तै केही दिनअघि स्कुपखबरमै ‘रक्सीले लठ्ठिएका हवल्दारले इन्स्पेक्टरको कान ताने, एसएसपीले स्पष्टीकरण सोध्ने आँट समेत गरेनन्’ शीर्षकमा अर्को समाचार छापिएको थियो । तर, एसएसपी कोइराला तत्काल ‘एक्सन’मा जान सकेनन् । समाचार आएपछि मात्रै घटनामा संलग्न प्रहरीमाथि स्पष्टकिरण सोधेको स्रोत बताउँछ ।
एसएसपी कोइरालाले माथिको घटनामा पनि तल्लो दर्जाका एक जुनियर अधिकृतको सल्लाहमा रक्सीले मातेर प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कान तान्नेलाई वास्तै नगरी छोडिदिएका हुन् ।
यसरी पछिल्लो समय ब्यूरोमा कोइरालाको भन्दा तल्लो दर्जाका एक प्रहरीको बढी चहलपहल चल्ने गरेको स्रोत बताउँछ ।
त्यतिमात्र नभएर जेठ २७ गते ब्यूरोको टोलीले समातेको मान्छेलाई टोखामा लगेर गोली हानी लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको भन्दै एसएसपी कोइरालाले मिडियाबाजी गरेका थिए । जतिबेला प्रत्यक्षदर्शीहरुले समातेर गोली हानेको भनी मिडियालाई अन्तरवार्ता समेत दिएका थिए ।
जुन भिडिओ क्लिप हेर्न यहाँ क्लिक गर्नुहोस्
यसरी स्टन्टबाजीमा रमाउने र कमजोर कार्यक्षमताका एसएसपी कोइरालाले पछिल्लो समय प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई समेत प्रभावमा पारेर तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको मनोबल गिराउने काम गरेका छन् ।
केही दिनअघि वर्षेनी २,५०० प्रहरीले जागिर छाडेको तथ्यांक प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । जसमा अधिकांश हाकिमको अत्याचार र शोषणको कारण छ । यस्तै हाकिमका कारण प्रहरीमा जागिर खानेको विकर्षण बढ्न थालेको छ ।
एसएसपी कोइरालाले एक सहायक प्रहरी हवल्दारलाई गरेको अत्याचारबारे अर्को श्रृखंलामा ।
