काठमाडौं । २२ असारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले मोरङको रंगेलीमा लागूऔषध कारोबारी पक्राउ गर्न २ राउन्ड हवाइ फायर फायर गर्यो । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
जतिबेला प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ पनि गरेको छ । घटनामा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश यादवसहितको टोली खटिएको थियो ।
उक्त टोलीले मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, सोही स्थानका ३८ वर्षीय सुशिल बुढाथोकी र ४५ वर्षीया भारतीय नागरिक हसिना खातुनलाई पक्राउ गरेको थियो ।
खातुनबाट प्रहरीले ४२५ ग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनी उक्त खैरो हेरोइन बेच्न नेपाल आएका थिए । ठाकुर र बुढाथोकी किन्न हिँडेका थिए ।
तर, ब्यूरोको टोलीले रंगेली घटनाको २ दिनअघि ब्यूरोले काठमाडौंबाट २ जना लागूऔषध कारोबारीलाई समातेको थियो । उनीहरुकै सूचनाको आधारमा ब्यूरो मोरङको रंगेली हानिएका हुन् ।
अन्दाजी ८ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको सूचनाको आधारमा उनीहरुकै साथमा एक स्कार्पियोमार्फत रंगेली पुगेको थियो ब्यूरोको टोली । उनीहरुकै सूचनाको आधारमा ब्यूरोको टोलीले रंगेली पुगेर हवाई फायर गरेको हो ।
काठमाडौंबाट पक्राउ परेका टोलीको सूचनाको आधारमा रंगेली पुग्दा अन्य कारोबारीहरु त्यहिँ लोकेशनमा थिए । लगत्तै ब्यूरोको टोलीले काठमाडौंबाट पक्राउ परेका एक जनालाई त्यहिँ छाडिदियो । हत्कडी खोलेपछि उनी त्यहाँको गतिविधि हेर्न थाल्छन् ।
तर, ब्यूरोको टोलीले बुढाथोकी र ठाकुरसहितको कारोबारीहरुलाई देख्नेबित्तिकै गोली चलायो । कारोबारीलाई गोली चलाएर ब्यूरोबाट खटिएका इन्स्पेक्टर यादवको टोलीले नियन्त्रणमा लिएपछि उनीहरुलाई कोटेश्वरस्थित ब्यूरोको कार्यालयमा ल्याइयो ।
कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण कोइरालालाई घटनाबारे रिपोर्टिगं भयो । त्यसपछि पुनः काठमाडौंबाट पक्राउ परेका अर्का कारोबारीलाई समेत छाडिन्छ । यसरी लागूऔषध जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई एसएसपीको अगाडि छाडिएको हो ।
तल्लो दर्जाका प्रहरी कर्मचारीको सिफारिस वा कन्भिसमा एसएसपी कोइरालाकै अगाडि ती कारोबारीलाई छाडिएको हो । अडान लिन नसक्दा एसएसपीले ती कारोबारीलाई मुद्दा चलाउनु पर्नेमा छाड्न बाध्य भएको स्रोत बताउँछ ।
त्यतिमात्र नभएर रंगेलीमा त्यतिबेला गोली चलाउनु नपर्ने हुँदाहुँदै प्रहरीले गोली चलाएको बताइन्छ । स्टन्टबाजीको नाममा प्रहरीले गोली चलाएको एक प्रत्यक्षदर्शीको दाबी छ । ती प्रत्यक्षदर्शी भन्छन्, ‘जतिबेला प्रहरीले उनीहरुलाई सहजै नियन्त्रणमा लिन सक्थ्यो । तर, प्रहरीले गोली चलाएर राम्रो काम गरेको भन्दै अफवाह फैलाइयो ।’
त्यतिमात्र नभएर टोखामा समेत ब्यूरोले एक लागूऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको थियो । गोली हान्नै नपर्ने मान्छेलाई त्यतिबेला घुँडा टेकाएर गोली हानेको प्रत्यक्षदर्शीहरुले बताएका थिए ।
त्यतिमात्र नभएर ब्यूरोले २५ दिनअघि ठमेलबाट एकजना मारवाडीलाई ३ ग्राम आइससहित पक्राउ गरेको थियो । तर, केही मिनटमै उनलाई ब्यूरोले छाडेको थियो । यसरी पछिल्लो समय ब्यूरोले कारोबारी समात्दै छाड्ने गरेको छ ।
यी २ घटना त उदारहण मात्र हुन् । कोइरालाकै कार्यकालमा ब्यूरोले अन्य कारोबारीहरुलाई पनि समात्दै छाड्दै गरेको छ ।
यसरी कोइराला प्रमुख भएपछि ब्यूरो पछिल्लो समय विवादमा तानिएको छ । ‘स्टन्टबाजी’को बहानामा गोली चलाउनेदेखि कारोबारीहरुलाई तर्साएर पक्राउ गर्नेदेखि छाड्नेसम्मको काम भइरहेको छ ।
(ब्यूरोमै कार्यरत एक सहायक हवल्दारले मच्चाएको काण्ड अर्को श्रृंखलामा ।)
