काठमाडौं । २३ वैशाखदेखि ३१ वैशाखसम्म सडक विस्तारका लागि रातको ११ बजेदेखि ३ बजेसम्म आवागमन बन्द गरेर काम भइरहेको थियो । जसले गर्दा रातमा चल्ने सवारी साधनहरुलाई धादिगंको नौबिस, धार्के, झ्याप्लेखाला आसपासमा रोकिन्थ्यो ।
३ बजेपछि ती सवारी साधनहरुलाई ट्राफिक प्रहरीहरु क्रमबद्ध तरिकाले जाम नहोस् भन्ने तरिकाले बाटोमा खटिन्थे । उनीहरुलाई जनपथ प्रहरीहरुले समेत सहयोग गर्थे । यसरी नै एक हप्तासम्म चलिरह्यो । जाम भएका सवारीहरुलाई सहज तरिकाले काठमाडौं उपत्यका छिर्ने मुख्य नाका नागुढंगा कटाउँथे ।
सडक विस्तारको काम सकिने दिन ३१ वैशाख थियो । विशेषगरी सवारी जाम खुलाउने काम ट्राफिक प्रहरीको हो । अघिल्लो रातदेखिको गाडीको जाम देखेपछि सोहीदिन बिहान नागढुंगा ट्राफिक प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साह र प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर हिक्मत थापा सवारी जाम सहजीकरण गर्न आफैं लागिपरे ।
चेकप्वाइन्टबाट थोरै तल बसेर उनीहरुले बाटोमा रोकिएका गाडीहरुलाई क्रमबद्ध तरिकाले ताने । सवारी साधनहरुहरु आफ्नै तरिकाले अघि बढिरहेको थियो । जसले गर्दा सवारी आवगमन सहज भइरहेको थियो । एक्कासी एकछिनमा सवारी साधनहरु पुनः रोकिन थाल्यो । अर्थात् जाम हुन थाल्यो ।
ट्राफिक इन्स्पेक्टर चेकप्वाइन्टतिर लागे । ४/५ वटा भारतीय गाडीहरु साइड लगाएको देखे । त्यहि गाडीहरुले गर्दा जाम भएको थियो । नजिकै पुगे, जनपथतर्फका एकजना जवानलाई देखे । इन्स्पेक्टरले सोधे, के भयो ? किन साइड लगाएको ? यत्तिकैमा भारतीय गाडीका चालकले भने, ५० रुपैयाँ घुस माग्यो सर ।
बाटो जाम भइरहेको अवस्थामा जवानले घुस मागेको बताएपछि इन्स्पेक्टर साहले जवानलाई तत्कालै पैसा फिर्ता गर्न भने ? तर, ती जवान उल्टो त्यो पैसा फालेर भाग्न थाले । गाडीको छेउ पारेर पैसा मागेका खड्का त्यसपछि चेकप्वाइन्टस्थित बीच सडकमा पुगे ।
ती जवान हुन् मदन खड्का ।
इन्स्पेक्टर साह जवान खड्का भएतिरै गए । जवान खड्कालाई नजिक बोलाए । बीच सडकमा भएकाले केही गर्दैनन् भन्ने लागेर जवान खड्का नजिक गए । तर, आवेगमा आएका इन्स्पेक्टर साहले बीच बाटोमै ती जवान खड्कालाई मुक्का हानिहाले ।
जुन दृश्य जाममा परेका यात्रुहरुले आफ्नो मोबाइलमा कैद गर्न भ्याए ।
त्यहि दृश्यको भिडिओ बुधबार दिउँसो सामाजिक सञ्जालमा भाइरल भयो । एकपटक होइन, पटकपटक जवानमाथि साहले मुक्का हानेको भिडिओमा देख्न सकिन्छ । बर्दीधारी प्रहरीले अर्को बर्दीधारी प्रहरीलाई मुक्का हानेको भिडियो भाइरल भएपछि प्रहरीको चर्को आलोचना समेत भएको छ ।
भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि तत्कालै उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानबिन सुरु मात्र गरेको छैन्, ती दुवै प्रहरीलाई जिम्मेवारीबाट मुक्त समेत गरेको छ । ड्युटीमा रहेको बेला बर्दीमै मध्यसडकमा हातपातमा उत्रिएपछि दुवै जनाको जिम्मेवारी खोस्दै अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता तथा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले एक विज्ञप्ति जारी गर्दै छानबिनका लागि दुवैलाई जिम्मेवारीबाट हटाइएको जनाएका छन् । ‘यो विवाद के हो भन्नेबारे प्रहरीले आन्तरिक छानबिन अघि बढाएको छ । छानबिनपछि थप कुरा आउला,’ खनालले भने ।
यसरी ५० रुपैयाँ घुस लिँदा इन्स्पेक्टर-जवान विवाद भएको हो ।
जवानले गल्ती नै गरेपनि इन्स्पेक्टर साहले आफ्नो संगठनको नीतिअनुरुप कारबाही गर्न सक्थे । तर, सार्वजनिकस्थलमै हातपात गरेर स्टन्ट देखाउन खोज्दा इन्स्पेक्टर साह आफैं विवादमा तानिएका छन् ।
त्यस्तै प्रहरी जवान खड्काले घुस मागे नमागेको चेकप्वाइन्टमा जडान गरिएको सीसीटिभी फुटेज हेरेपछि थाहा होला । तर, एक प्रत्यक्षदर्शीकाअनुसार इन्स्पेक्टर साहले बोलाउँदा जवान खड्काले ५० रुपैयाँ फालेर भागेका हुन् । अब यहिँबाट पुष्टि हुन्छ कि जवानले घुसबापतको रकम फालेका हुन् ।
यो पनि पढ्नुहोस्…
डिएसपीले सई र इन्स्पेक्टरले जवान कुटे, एसपीले गृहमन्त्रीकै अगाडि गुट्खा च्यापे !
नागढुंगामा प्रहरी जवानमाथि कुटपिट गर्ने इन्स्पेक्टरको जिम्मेवारी खोसिए
ट्राफिक इन्स्पेक्टरले प्रहरी जवानलाई सडकमै कुटे