काठमाडौँ । काठमाडौंको नागढुंगामा प्रहरी जवानमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साह कारबाहीमा परेका छन् ।
बुधवार सार्वजनिक ठाउँ सडकमै इन्स्पेक्टर साहले जवानलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
सहायक जवानमाथि कुटपिट गर्ने इन्स्पेक्टर साहको जिम्मेवारी खोसिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए । साहमाथि छानबिन सुरु भएको उनले बताए ।
साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाइएको र अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने खनालले बताए । घटना बुधबार दिउँसोको हो ।
कुटाई खाने जवान प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए भने प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हुन् ।
यद्यपि जवानले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।
