काठमाडौं । १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पाको नेतृत्व प्रहरी नायब उपरीक्षक (डिएसपी) डा. हेम केसीले सम्हाले । नक्सालमै कार्यरत डिएसपी केसीको १० वैशाखमा सरुवा भएपनि उनी पाँच दिनपछि डोल्पा हाजिर भएका हुन् ।
तर सरुवा भएको सात दिन नपुग्दै डिएसपी केसी विवादमा मुछिए । मुद्दा फाँटमा ५ वर्षदेखि कार्यरत एकजना प्रहरी नायब निरीक्षक (सई)लाई कुटपिट गरेको आरोप लागेपछि उनलाई १६ गते नै प्रधान कार्यालयले फिर्ता बोलायो ।
सई शैलेन्द्र कुमार रसाइलीलाई डिएसपी केसीले एक्कासी बोलाएर अश्लील शब्द प्रयोग गरी गालीगलौज र कुटपिट गरेको बताइएको छ । त्यसपछि उजुरी परेकोमा भोलिपल्टै उनलाई हेडक्वार्टर तानिएको हो ।
प्रहरी हेडक्वार्टरको आदेशपछि डिएसपी केसी सार्वजनिक बस चढी काठमाडौं हिँडेका थिए । घटना बाहिर आएपछि छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डिएसपी नारायण डाँगीको टोली डोल्पा पुगेर छानबिन सुरु गरेको थियो ।
डिएसपी डाँगी नेतृत्वको छानबिन टोलीले प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदन बुझाएको केही दिनमै पुनः डिएसपी केसीलाई डोल्पा प्रहरी नेतृत्वको जिम्मेवारीमा खटाइएको छ । यसले विवादास्पद डिएसपी केसीको पुनः फिर्तीले सुरक्षामाथि प्रश्नचिन्ह उठाएको छ ।
यस्तै बुधबार अर्को एउटा भिडिओ भाइरल भयो । जुन भिडिओमा बर्दीधारी प्रहरीले बर्दीधारी प्रहरीलाई नै कुटेको देखिन्छ । जसको चर्को आलोचना समेत भएको छ । प्रहरी प्रधान कार्यालयले समेत चासो राखेको छ ।
भिडिओमा कुट्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुन् भने कुटाई खाने प्रहरी जवान । कुटाई खाने जवान मदन खड्का प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए भने इन्स्पेक्टर जितेन्द्र साह ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हुन् ।
बुधवार सार्वजनिक ठाउँ सडकमै इन्स्पेक्टर साहले प्रहरी जवान खड्कालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो । घटना पनि बुधबार दिउँसोकै हो ।
प्रहरीको चर्को आलोचनापछि जवानमाथि कुटपिट गर्ने इन्स्पेक्टर साहको जिम्मेवारी खोसिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए । साहमाथि छानबिन सुरु भएको उनले बताए ।
इन्स्पेक्टर साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाइएको र अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने खनालले बताए ।
यस्तै प्रहरीकै अर्को भिडिओ पनि चर्चामा छ । गृहमन्त्री रमेश लेखक उपस्थित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नारायण चिमौरियाले लुकीलुकी मुखमा गुट्खा च्यापेको भिडिओ भाइरल भएको हो ।
गृहमन्त्रीले थाहा पाउँछन् कि भन्दै लुकेर उनले गुट्खा खाएको भिडियो नै सार्वजनिक भएको थियो । भिडिओमा उनले अरुले देख्छ कि भनेर गोजीबाट गुट्खा निकाले मुखमा च्यापेको देख्न सकिन्छ ।
यो घटनामा एसपी चिमोरियामाथि कारबाहीको माग उठेको छ । तर, उनीमाथि अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि बढेको छैन ।
यसरी पछिल्लो समय प्रहरी संगठनमा अनुसाशनहिन प्रवृति बढ्दो छ । प्रहरीको आचरण र संगठन विपरीत काम गर्ने प्रहरीहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यता प्रहरी नेतृत्वले बारम्बार संगठन विपरित काम गर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिँदा पनि सिनियर प्रहरी अधिकृतहरु नै त्यस्ता गतिविधि गर्न पछि हटेका छैनन् ।
‘संगठन विपरीत काम गर्नेले सजाय पाउँछ,’ प्रहरी व्रवक्ता रमेश थापाले भने, ‘आर्थिक प्रलोभनमा परेको, आर्थिक अनुशासन भंग गरेको, आन्तरीक अनुशासन भंग गरेकाले कार्वाही गर्छौं र गरेका छौं पनि ।’
हामीले संगठन गल्ती गर्नेलाई कार्वाही र राम्रो काम गर्नेलाई पुरस्कार गर्ने अभियान नै चलाएको प्रवक्ता थापाको भनाइ थियो ।