काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले कसैलाई पनि थुन्ने अभिव्यक्ति नदिएको स्पष्ट पारेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अविनारायण काफ्लेले आईजीपी केसीले कसैलाई थुन्ने कुरा नगरेको बताएका हुन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नवनियुक्त आईजीपी केसीले आफू, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवालाई थुन्ने अभिव्यक्ति दिएको दाबी गरेका थिए ।
ओलीको उक्त दाबीसँगै प्रतिक्रिया माग्दा प्रहरी प्रवक्ता काफ्लेले आईजीपीले त्यस्तो अभिव्यक्ति नदिएको बताए ।
‘आईजीपी साप त्यसरी औपचारिक कार्यक्रममा कहीँ जानुभएको पनि छैन, त्यस्तो बोल्नुभएको पनि छैन,’ काफ्लेले भने, ‘उहाँले कुन हिसाबले के भन्नुभएको हो, हामीले पनि बुझेका छैनौँ । प्रहरीले कसैलाई थुन्ने भन्ने कुरा पनि भएन ।’
ओलीले भने आईजीपी केसीले आफूहरूलाई थुन्ने चेतावनी दिएको दाबी गर्दै यस्तो अभिव्यक्ति जिम्मेवार पदमा बसेका व्यक्तिका लागि सुहाउने विषय नभएको टिप्पणी गरेका थिए ।

