काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम राहत दिन अस्वीकार गरेको छ ।
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीको मागअनुसार तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो । यद्यपि, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा थप छलफल आवश्यक ठहर गर्दै अदालतले दुवै पक्षलाई उपस्थित हुन भनेको छ ।
यससँगै कार्कीको पुनर्बहालीसम्बन्धी मागमा तत्काल कुनै टुंगो लागेको छैन । दुवै पक्षको धारणा सुनेपछि मात्रै अन्तरिम आदेशबारे अदालतले निर्णय गर्नेछ ।
अब विपक्षी बनाइएका सबै पक्षको लिखित जवाफ प्राप्त भएपछि मुद्दाले नियमित सुनुवाइको प्रक्रिया अघि बढाउनेछ । त्यसपछि सर्वोच्चले मुद्दाको सुनुवाइका लागि पेसी तोक्नेछ ।
सरकारको निर्णय बदर गरी आफूलाई आईजीपीमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयबाट उनलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो भने डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो ।

