काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रथम महाधिवेशन सम्पन्न भएसँगै पार्टीभित्रको समायोजन प्रक्रिया पूर्ण रूपमा सकिएको दाबी गरेका छन् ।
सोमबार आयोजित क्यान्डिडेट क्लब घोषणा कार्यक्रममा बोल्दै लामिछानेले अब रास्वपा एकीकृत ढंगले अघि बढ्ने बताए । पार्टीभित्र गुट वा फरक–फरक नेतृत्वको अवस्था नरहेको उनको भनाइ छ ।
‘एउटा रास्वपा छ, एउटा लिडर छ, फरक–फरक छैन । कसैले भन्न सक्ला, म यो गुटको हो, मेरो नेता यो हो । तर त्यसबाट मनोरञ्जनबाहेक केही पनि लिन सकिँदैन,’ उनले भने ।
लामिछानेले विशेष परिस्थितिका कारण यसअघि पार्टीभित्र ‘प्राइमरी इलेक्सन’ गर्न नसकिएको पनि बताए । आगामी दिनमा भने पार्टीको सांगठनिक गतिविधिलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने संकेत उनले गरे ।
यसैबीच, रास्वपाले सोमबारदेखि ‘क्यान्डिडेट क्लब’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । क्लबमार्फत आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिले आवेदन दिन सक्ने पार्टीले जनाएको छ ।
हाल गाउँपालिकाका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि आवेदन खुला गरिएको छ । नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका लागि भने पछि छुट्टाछुट्टै आवेदन आह्वान गरिने रास्वपाले जनाएको छ ।
