काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षका रुपमा चन्द्रप्रसाद ढकालले आइतबार सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।
सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिरनिर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको बताए ।
उनले ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको समेत उल्लेख गरे ।
ढकालले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई डिजिटल र प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्लोबल आइएमई बैंकलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
ढकालले बैंकका नवनिर्वाचित सञ्चालकहरुलाई आइतबार नै शपथ गराएका छन् । संस्थापकबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त चयन भएका थिए भने सर्वसाधारण शेयरधनीबाट कृष्णप्रसाद शर्मा, नारायणप्रसाद पौडेल र मदनलाल जोशी सञ्चालक समितिमा सर्वसम्मत निर्वाचित भएका थिए ।
सपथ कार्यक्रममा डेपुटी गभर्नरद्वय डा. निलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु, ग्लोबल आइएमई बैंकको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
