काठमाडौं । वीर अस्पतालको निर्देशकबाट डा. सन्तोष पौडेललाई हटाइएका छन् । दुई वर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधि अझै झण्डै १५ महिना बाँकी छ ।
तर स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले बिहीवार मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई वीर अस्पतालको निर्देशक पदबाट हटाइएका मन्त्रालयका प्रवक्ता डा. प्रकश बुढाथोकीले जानकारी दिए ।
प्रवक्ता बुढाथोकी अनुसार डा. पौडेललाई वीर अस्पतालको निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी अर्को निर्णय नहुँदासम्मका लागि मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाइएको छ ।
निर्वाचन आयोगले वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेल नेपाल कम्युनिष्ट पार्टी एमालेको सदस्य र जनसंगठनको महासचिव पदमा क्रियाशील रहेको भन्दै आवश्यक कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो ।
