चितवन । रेनु दाहालको विकासले काठमाडौंभन्दा भरतपुरको भाउ धेरै छ, एक वर्षअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनावको बेला भनेको अंश हो । जतिबेला देउवा प्रधानमन्त्री थिए ।
‘राम्रो काम गर्ने मान्छेलाई हरायो भने भरतपुरका जनताले के भन्लान्, जसले धेरै राम्रा काम गर्ने अठोट लिनुभएको छ, उहाँलाई हराएर देशलाई के सन्देश दिने ?’ देउवाले चुनावी आमसभालाई सम्बोधन गर्दै भनेका थिए ।
हुन पनि हो, अन्य महानगरपालिकाको तुलनामा चितवनको भरतपुर महानगरपालिकामा थुप्रै विकासका कामहरु भएको छ । बाटोदेखि खानेपानीसम्मको लगभग समस्या अन्त्य भएको महानगरपालिकाको दाबी छ ।
सभापति देउवाले भनेको कुरा भरपुरवासी जनताले समेत महसुस गरेका छन् । रेनु दाहाल भरतपुर महानगरको मेयर भएपछि विकासको लहर छायो । जुनकुरा कल्पना भन्दा पनि बाहिरको थियो । तर, उनको अग्रसरताले भरतपुर महानगरको मुहार नै परिवर्तन भएको छ ।
विगत ७ वर्षदेखि रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरको कुर्सीमा छिन् । तर, उनी कुर्सीमा मात्र नबसेर विकासको काममा निकै अग्रसर पनि छिन् । जसको पछिल्लो उदाहरणको रुपमा महानगरभित्रको बाटोलाई लिन सकिन्छ ।
मेयर दाहालले आफ्नो कार्यकालमा सडकमा बत्ती जडान, फोहोरमैला व्यवस्थापन, खानेपानी, ढल निर्माण, व्यवस्थित बसपार्कलगायत थुप्रै कामहरु गरेकी छिन् । जुनकुराले भरतपुरवासीहरु दाहाल जस्तो मेयर पाएर खुसी छन् ।
चुनाव जितेपछि उनी आफैंले एउटा प्रतिबद्धता व्यक्त गरेकी थिइन्, एउटा जनप्रतिनिधिको रुपमा जनताले चुनेर पठाएपछि ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्नेछु । हुनपनि उनले जे भनेकी थिइन्, अहिले आएर पूरा भएको छ ।
भरतपुरवासीहरूको चाहना तीव्र विकास, सुशासन, पारदर्शिता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षका लागि मैदानमा उत्रिएकी मेयर दाहालले अब कसरी थप विकासको मुल फुटाउनेछिन् त्यो हेर्न बाँकी छ ।
