काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई र नेकपा एमालेको भातृ संगठन महेश बस्नेत नेतृत्वको नेतृत्वमा वा संघले भोलि अर्थात ७ गते शक्ति प्रदर्शन गर्दैछ । जसले गर्दा काठमाडौँ उपत्यकामा सुरक्षा चुनौती बढेको छ ।
एक–अर्काविरुद्ध खरो उत्रिएका यी दुवै समूहका कारण मुठभेड हुनसक्ने र शान्ति–सुरक्षामा खलल पुग्ने आंकलन गरी उपत्याकामा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग परिचालन हुनेछन् ।
बल्खुमा प्रसाईं समर्थकहरुले शक्ति प्रदर्शन गर्न लागेका छन् भने तीनकुनेमा युवा संघले शक्ति प्रर्दशन गर्दैछ । बुधबार हुने प्रदर्शनको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालयले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ ।
प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले स्कुपखबरलाई बताए ।
प्रदर्शन स्थल र जुलुस आउने बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित हुनेछन् । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना लागु गरिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित हुनेछन् ।
प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना संकलनका लागि ३५१ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी समेत प्रदर्शनस्थलमा परिचालित हुनेछन् ।
प्रदर्शनस्थलमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएको छ । डीआईजी लालमणि आचार्यको नेतृत्वमा कमाण्ड सेन्टर बनाइएको हो ।
कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक (एसएसपी), राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक प्रदेश सिंह हमाल र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको छ ।
दुवै समूहले एक अर्कालाई टक्कर दिँदै उग्र रुपमा प्रदर्शनको तयारी थालेपछि सुरक्षा, गस्ती र अनुगमनका लागि फिल्डमा चारवटै सुरक्षा निकायका कर्मचारीहरुलाई खटाइएको बताइएको छ ।
नेपाली सेनालाई भने ब्याकअप फोर्सका लागि पछाडि तैनाथ गरिने सुरक्षा समितिको निर्णय छ । यसका साथै घटनामा घुसपैठ हुन नदिन र सूक्ष्म निगरानी राख्नका लागि राष्ट्रिय अनुसन्धानको टोली फिल्डमा परिचालन हुनेछन् ।
त्यस्तै प्रहरीले ड्रोनबाट पनि प्रदर्शनस्थलको सुरक्षा निगरानी गर्ने भएको छ । तीनकुनेमा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले ड्रोन प्रयोग गर्न असम्भव भएपनि बल्खुमा चाहिँ ड्रोन प्रयोग हुने प्रहरीले जनाएको छ ।
काठमाडौं प्रहरीलाई प्रहरी प्रधान कार्यालयले सुरक्षा निगरानीका लागि थप दुई वटा ड्रोन उपलब्ध गराएको छ । प्रदर्शन स्थलमा २ थान ज्यामर समेत भेहिकल प्रयोग गर्ने सुरक्षा निकायको तयारी छ ।
