काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले ६ जना न्यायाधीशलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
उच्च अदालतका न्यायाधीश सारंगा सुवेदी, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना र अब्दुलअजिज मुसलमान न्यायाधीशमा सिफारिस भएका छन् । त्यसैगरी कानुन व्यवसायीबाट बालकृष्ण ढकाल, सुनिल पोखरेल (कांग्रेस कोटा) सिफारिस भएका छन् ।
माओवादी कोटाबाट डीएन पराजुली र दिनमणि पोखरेलमा सहमति नजुट्दा एक सिट खाली राखिएको बुझिएको छ । उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।
मुख्य न्यायाधीशका लागि पनि ६ जना सिफारिस
न्याय परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश नियुक्तिका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । मुख्य न्यायाधीशका लागि सिफारिस भएकाहरुमा लोहितचन्द्र शाह, माधव पोखरेल,रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यनन्द पाण्डे र शान्तिसिंह थापा रहेका छन् ।
शाहलाई सुर्खेत, पोखरेललाई पोखरा, राजभण्डारी, विराटनगर, पौडेललाई, जनकपुर, पाण्डेलाई तुलसीपुर, थापालाई दिपायलका लागि सिफारिस गरिएको जनाइएको छ । त्यस्तै नृपध्वज निरौलालाई पाटन सरूवा गरिएको छ ।
