चितवन । भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायतका काममा सहयोग पुर्याउन भरतपुर महानगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
भूकम्प गएको केही दिनमै महानगरको ८७ औँ कार्यपालिका बैठकले महानगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय भएको हो ।
आर्थिक सहयोग गर्ने निर्णयसँगै महानगरपालिकाकी मेयर रेनु दाहाल महानगरको टोलीसहित राहत सामग्री लिएर २३ गतेदेखि भूकम्प प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरेकी छिन् । अवलोकनको क्रममा मेयर दाहालले प्रभावित क्षेत्रका घाइतेहरुलाई भेटेर सक्ने सहयोग गर्ने विश्वास दिलाएकी छन् ।
मेयर दाहालले अस्पतालमा उपचार गराइरहेका घाइतेहरुको अवस्थाबारे पनि जानकारी लिएकी थिइन् । त्यस्तै उनले भूकम्पले भत्केका घरहरूको निरीक्षण गर्नुका साथै स्थानीयहरूसँग छलफल पनि गरेकी थिइन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम रुकुममा समेत धेरै भौतिक क्षति गरेको छ । भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा घाइते भएका छन् ।
