काठमाडौं । शुक्रबार बिहान दुई पाइलटबीच कुटाकुट भएको छ । बिहान ८ बजेको समयमा रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबीच कुटाकुट भएको हो ।
तारा एयरको टुइनअटर विमान लुक्लाबाट रामेछाप विमानस्थलमा अवतरण गराएका वरिष्ठ क्याप्टेन सन्तोष साह र त्यही कम्पनीका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच रामेछाप विमानस्थलको एप्रोनमा कुटाकुट भएको बताइएको छ ।
काठमाडौंस्थित नागरिक उड्डयन प्राधिकरणका एक उपनिर्देशकका अनुसार दुई पाइलटबीच कुटाकुट भएपनि कारण भने खुलेको छैन । घटनाको सत्यतथ्यबारे बुझिरहेको ती उपनिर्देशकले बताए ।
‘क्याप्टेन साह विमानस्थल भवनतर्फ आउँदै गर्दा अर्का क्याप्टेन श्रेष्ठ जहाजतर्फ जाँदै थिए,’ ती उपनिर्देशकले भने,‘सन्तोष साहले हात मिलाउन खोज्दा सञ्जीवले धकेले । उनी लडेपछि दुई जनाले हानाहान गरे ।’
घटनापछि क्याप्टेन साहले आफूलाई हातमा चोट लागेको र मन्थली बजारमा उपचार गराइरहेका छन् । क्याप्टेन सञ्जीव श्रेष्ठ भने जहाज लिएर लुक्ला पुगेका छन् । उनलाई र उक्त जहाजलाई लुक्ला विमानस्थलमै ग्राउन्डेड गरिएको छ ।
घटनापछि प्राधिकरणले क्याप्टेन श्रेष्ठको पाइलट इजाजतपत्र खारेज गर्ने तयारी गरेको छ ।
