काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज सुनाउने भएको छ ।
व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैद ठहर भएका ढकाललाई दिइएको माफीविरुद्ध परेको रिटमा बुधबार बहस सकिएपछि सर्वोच्चले आज फैसला सुनाउन लागेको हो ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा भइरहेको सुनुवाइमा सरकारी पक्षले बहस गरिरहँदा समय नपुगेपछि मंगलबार हेर्दाहेर्दै राखिएको थियो ।
बुधबार सरकारी वकिल, प्रतिवादी र निवेदकहरुले जवाफी बहस गरेका थिए । बहस सकिए पनि फैसलाका लागि समय नपुगेपछि आजका लागि निसु तोकिएको हो । भारती शेर्पाले दायर गरेको रिटमा निवेदकको बहस भइरहेको थियो ।
आज हुने फैसलाले रिगललाई पुनः थुनामा पठाउने कि सरकारले दिएको माफी सदर गर्ने भन्नेबारे निर्क्योल गर्नेछ । यदि सर्वोच्चले राष्ट्रपतिले दिएको सजाय माफी गलत ठहर गर्यो भने रिगल पुनः पक्राउ पर्नेछन् । उनलाई बाँकी कैदका लागि थुनामा राखिनेछ ।
ढकालले २०७२ असार २८ मा नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । उनलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहको अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।
