काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी–२० श्रृंखला नखेल्ने भएका छन् ।
सन्दीपले नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज नखेल्ने निर्णय गरेका हुन् ।
उक्त सिरिजका खेलहरु यहि १ कात्तिकदेखि १० गतेसम्म हुँदैछ । नाबालिक बलात्कार आरोप लागेका उनले सामाजिक सञ्जालमार्फत आफुले भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको बताएका छन् ।
‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु,’ उनले भनेका छन् । यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् ।
उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’ लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।
