काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग सहयोग मागेका छन् । मंगलबार दुई नेताबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले अध्यक्ष लिङ्देनसँग कोशी प्रदेश सरकार गठनको लागि सहयोग मागेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटपछि कुरा गर्दै लिङ्देनले भने, ‘म आफ्नै काम लिएर गएको थिएँ । तर, त्यहाँ पुगेपछि कोशी प्रदेशको सरकारको विषयमा कुरा उठ्ने नै भयो । प्रधानमन्त्रीज्यूले अब के गर्ने भनेर सोध्नुभयो । सहयोग गर्नुपर्यो भनेर भन्नुभयो ।’
प्रधानमन्त्रीले सरकार गठनमा सहयोग गर्न अनौपचारिक प्रस्ताव राखेपछि यसबारे ठोस सहमति भने बनिसकेको लिङ्देनले स्पष्ट पारे । ‘अहिले गठबन्धन पक्षकै सरकार बन्नलाई अकंगणित पर्याप्त छ । ४७ सांसद पुगिहाल्छ,’ उनले भने ।
तर गठबन्धनभित्र नै कसलाई अगाडि बढाउने भन्नेमा एक मत देखिएको छैन । गठबन्धनबाट मुख्यमन्त्रीमा कसलाई अगाडि सार्ने विषयमा निर्णय भएपछि आफ्नो पार्टी अघि बढ्ने उनले जिकिर गरे । अहिले नै हतार गर्ने पक्षमा नरहेको उनको भनाई छ ।
अध्यक्ष लिङ्देनले भने, ‘सहकार्यका लागि सबै ढोका खुला छ । तर, जो अगाडि सार्ने हो, इच्छा गर्नेले कुरा ल्याउनुपर्यो । किन सघाउनु पर्ने खुलाउनुपर्यो । हामी सरकार बनाउन उत्सुक भएर जाने योजनामा छैनौँ ।’
