काठमाडौं । सरकारले कुनै पनि बेला धार्मिक दंगा फैलिन सक्ने भन्दै नेपाली सेनालाई उच्च सतर्क (हाइअलर्ट) अवस्थामा रहन निर्देशन दिएको छ ।
बुधबार सिंहरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेपाली सेनाका सबै युनिटहरुलाई उच्च सतर्क अवस्थामा रहन निर्देशन दिएको हो ।
बैठकमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृतिका गतिविधि भइरहेको भन्दै न्यूनीकरणका लागि अपनाउनुपर्ने भावी रणनीतिसम्बन्धी विषयमा छलफल भएको थियो ।
उक्त बैठकमा प्रधानसेनापति प्रभुराम शर्मा पनि उपस्थित थिए । देशका विभिन्न भागमा धार्मिक तथा जातीय तनाव बढिरहेको ठहर गर्दै बैठकले जुनसुकै बेला परिचालन हुनुपर्ने भन्दै सेनालाई सतर्क रहन भनेको हो ।
बैठकले धरान, मलंगवा र नेपालगञ्जलगायतका स्थानमा भईरहेका घटना सामान्य नभएको र नियोजित योजना अन्तर्गत भईरहेको हुन सक्ने निष्कर्ष निकालेको हो ।
नेपालगञ्जमा भएको धार्मिक घटना कुनै एक व्यक्तिले फेसबुकमा स्टाटस लेखिएकै कारण उत्पन्न भएको नभई त्यसमा कुनै नियोजित षड्यन्त्र भएको निष्कर्ष निकालेको छ ।
११ असोजमा मुस्लिम समुदाय मोहम्मद डेमा व्यस्त रहेका बेला नरैनापुरका एक युवाले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मदको नाम जोडेर फेसबुकमा आपत्तिजनक कुरा लेखेका थिए ।
जार्बुद यादव नामको फेसबुक आईडीबाट धार्मिक निन्दासहित उक्त पोस्ट लेखिएपछि मुस्लिम समुदाय आक्रोशित भएको थियो । सोही आधारमा मात्रै त्यस घटनालाई हेर्न नहुने राष्ट्रिय सुरक्षा परिषदको निष्कर्ष रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकमा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, प्रधान सेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको सहभागी थियो ।
सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष, संघीय सरकारको रक्षामन्त्री संघीय सरकारको गृहमन्त्री, संघीय सरकारको परराष्ट्रमन्त्री,संघीय सरकारको अर्थमन्त्री, संघीय सरकारको मूख्य सचिव, नेपाली सेनाका प्रधान सेनापति, संघीय सरकारको रक्षा सचिव सदस्य सचिव रहने व्यवस्था छ ।
तर, बुधबारको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने तीन वटै सुरक्षा प्रमुखलाई लिएर मधेस प्रदेशमा सुरक्षा गोष्ठी भन्दै गएकाले बैठकमा उपस्थित भएका थिएनन् ।
०००
बैठकले पाँचौँ वार्षिक प्रतिवेदन समेत स्वीकृत गरिएको छ । बैठकले स्वीकृत गरेको पाँचौँ वार्षिक प्रतिवेदन स्वीकृत गरी राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने निर्णय भएको छ ।
‘पछिल्ला केही दिनमा देशका केही स्थानहरुमा धार्मिक, साम्प्रदायिक असहिष्णुता बढाउने प्रकृति भएका गतिविधिहरु, विभिन्न प्रदेशहरुको सुरक्षा स्थिति, बढ्दो सामाजिक सञ्जालको दुरुपयोग लगायतका राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय र घटनाहरु तथा त्यसको समाधान र न्यूनीकरणका लागि अपनाउनु पर्ने भावी रणनीति सम्बन्धी विषयमासमेत छलफल भयो,’ बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
