घोराही । स्वास्थ्यमन्त्री मोहन बस्नेतले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेसँग असन्तुष्टि पोखेका छन् ।
प्रतिष्ठानको अवलोकनपछि आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आफु क्याबिनेट छाडेर दाङ आउदा उपकुलपति ओम शान्तीको कार्यक्रममा भारत गएपछि उनीप्रति रोस प्रकट गरेका हुन् ।
लामिछाने आफ्नो पुर्वनिर्धारित कार्यक्रम भएकाले भारत गएका थिए । कार्यक्रममा मन्त्री बस्नेतले उपकुलपति नदेखेपछि यो बारेमा पटक- पटक कुरा उठाएका थिए ।
प्रतिष्ठानको लागि एक अरब बजेट खोजिरहेको बेला पदाधिकारीले त्यसतर्फ पहल नगरेको मन्त्री बस्नेतको गुनासो थियो । उनले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कानुनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइसकेको बताए ।
दाङको घोराहीस्थ्ति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुका साथै प्रतिष्ठानको नवनिर्मित इमरजेन्सि भवनको उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वाथ्यकर्मीलाई काम काज गर्ने क्रममा नै हातपात गर्नु अत्यन्तै निन्दनिय काम भएको पनि बताए ।
उनले कानुनलाई हातमा लिने जुनसुकै समुहलाई कानुनी दायरामा ल्याई मुद्धा चलाउन गृहमन्त्रालयसँग छलफल गरेर प्रहरीलाई निर्देशन दिएको कार्यक्रममा बताए ।
स्वाथ्यकर्मीहरुको सुरक्षाको लागि राज्य प्रतिवद्ध रहेको बताउदै मन्त्री बस्नेतले गलत ढंगले हुलहुज्जत गरेर स्वास्थ्य संस्था र स्वाथ्यकर्मी माथि हातपात गर्ने कुरा सरकारलाई सह्य नहुने बताए ।
उनले कानुन वमोजिम हुने कृयाकलापमा सबैको साथ हुने तर, गैरकानुनी गतिविधिमा साथ दिन नसकिने समेत स्पष्ट पारे ।
उनले प्रतिष्ठान दाङको धरोहर भएको भन्दै पर्याप्त बजेट छुट्याउन आफु तयार रहेको बताए । प्रतिष्ठानको सेवामा सुधार ल्याई शैक्षिक कार्यक्रम अघि बढाउन पनि मन्त्रालयको सहयोग रहने बताए ।
प्रतिष्ठान आफ्नो कार्ययोजनासहित इमान्दारीतापुर्वक आए बजेटको कुनै कमि नहुने पनि आश्वासन दिए ।
