मोरङ । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । खतिवडाले अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पछि पार्दै विजयी भएका हुन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका मोरङको लेटाङ नगरपालिकाका खतिवडाले ५१२ मत पाए । विराटनगरका ढकालले भने ४३० मत प्राप्त गरे । अध्यक्षमा ३५ मत बदर भएको निर्वाचन समितिका संयोजक चुडामणि आचार्यले जानकारी दिए ।
पार्टीको पाँचौँ जिल्ला अधिवेशनमा तत्कालीन ओली पक्षका ढकालसँग अध्यक्षमा पराजय बेहोरेका तत्कालीन माधव नेपाल पक्षका खतिवडाले प्रदेश अध्यक्षमा पार्टी अध्यक्ष ओलीको साथ पाएर उनलाई पराजित गरेका हुन् ।
पार्टी अध्यक्ष ओलीको प्रथम कोशी प्रदेश अधिवेशनमा सर्वसम्मत गर्ने निर्देशनलाई चुनौती दिँदै ढकाल र खतिवडा प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।
उपाध्यक्षमा टीकाराम चेम्जोङको मात्रै उम्मेदवारी दर्ता भएकोले उनी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा खतिवडा प्यानलका पाँचथरका राजकुमार भण्डारीले ढकाल प्यानलका उदयपुरका शैलेस लामालाई १४३ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ५२४ र लामाले ३८१ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
उपसचिवद्वयमा झापाकी जलवर्षा राजवंशीले ६२८ र खोटाङका देउमान राईले ६१० मत ल्याएर विजयी भएका छन् । उपसचिवमा ढकाल प्यानलका मोरङका खेम नेपालीले ३९७ मत ल्याएर पराजित भएका हुन् ।
खतिवडा प्यानलका उपसचिवका अर्का उम्मेदवार भविश्वर गुरूङ्ले उम्मेदवारी फिर्ता लिएर ढकाल प्यानलका देउमानलाई आफ्नो प्यानलमा ल्याएर विजयी गराएका छन् ।
दुई सय १५ सदस्यीय प्रदेश कमिटीका लागि भएको निर्वाचनमा ७३ जना निर्विरोध निर्वाचित भएपछि १४२ पदका लागि चुनावी प्रतिस्पर्धामा उत्रेका ३१८ जनालाई ९७७ जनाले मतदान गरेका थिए । २० जना मतदाता अनुपस्थित भएका थिए ।
