काठमाडौं । दसैंतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोह्रश्राद्धबाटै नयाँ नोट सटही सुरु गर्ने भएको छ । तर, नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने भएको छ ।
डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गर्ने भएको हो । नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने बैंकले जनाएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर बैंकबाट नयाँ नोट लिन सक्ने बताए ।
‘यो वर्षको दसैँमा नयाँ नोट सट्न आउनेहरूलाई क्यूआरमार्फत सटही गर्न पाउने व्यवस्था पनि गरिने छ । राष्ट्र बैंकको प्राथमिकता डिजिटल कारोबारलाई प्रोत्साहन गर्नु पनि हो,’ उनले भने ।
नोट नै बोकेर आउनेलाई पनि नयाँ नोट उपलब्ध गराउने निर्देशक शाक्यले बताए । सम्भव भएसम्म क्यूआरको विकल्प राख्नलाई पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिने उनको भनाइ छ ।
सर्वसाधारणको लामो लाइन नलागोस्, सहजै नोट साट्न पाउन् भनेर राष्ट्र बैंकले प्रत्येक बैंक तथा वित्तीय संस्थाका शाखाहरुलाई नयाँ नोट उपलब्ध गराउने छ ।
उनीहरुले आफ्नो खाता भएका ग्राहकलाई नयाँ नोट सटही सुविधा दिने छन् । त्यसपछि राष्ट्र बैंकले घटस्थापनाको केही दिन अघिबाट आफैंले सटही सुरु गर्ने छ ।
राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ । पाँचको एक प्याकेट, १० को, २० को, ५० को र सय रुपैयाँ दरको एक प्याकेट उपलब्ध गराउने छ ।
गत वर्ष राष्ट्र बैंकले दसैँका लागि पाँच देखि १०० का २२ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाएको थियो । यो वर्ष पनि यही हाराहारीमा नयाँ नोट बजारमा जान सक्ने राष्ट्र बैंकको आकंलन छ ।
