काठमाडौं । नेपाली कांग्रेस नेता डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकार असफल भइसकेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले सरकार बनेपछि एकाध आयोजना अघि बढे पनि समग्रमा सरकारको काम नदेखिएको स्पष्ट पारे ।
मुलुकमा सरकार नै नभएको स्थिति रहेकाले अब यो सरकारलाई राखेर काम नभएको पोखरेलको भनाइ छ । यस्तै उनले विभिन्न भ्रष्टाचार प्रकरणमा कांग्रेस र एमालेका एक–एक नेतालाई थुनामा राख्ने तर माओवादी नेताको नाम आउनासाथ काखापाखा गर्ने सरकारले निकास नदिने भएकाले सरकारको नेतृत्व फेर्नुपर्नेमा जोड दिए ।
साथै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र चलायमान बनाउन नसकेको र महँगी नियन्त्रण गर्न पनि नसकेको आरोप पनि लगाए ।
यता, प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा बीआरआई परियोजना अन्तर्गत अनुदान सम्झौता मात्र गर्न सक्ने नेता पोखरेलको भनाइ छ ।
चीनले नेपाललाई आर्थिक सहयोग गर्दागर्दै पनि आन्तरिक राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ गर्ने गरेकाले नेपाल र चीन सम्बन्ध विवादित बन्न थालेको डा. पोखरेलले बताए ।
